ओली–दाहाल एकान्त वार्ता बिना निश्कर्ष

काठमाडौँ ,बैशाख ११ गते।

प्रारम्भिक विधान तथा प्रतिवेदन मस्यौदा अध्ययन गरेपछि गत मंगलबार पार्टी एकता संयोजन समितिले एकताको सम्पूर्ण जिम्मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई दियो ।

समितिले एकताको सम्पूर्ण जिम्मा दिएपछि लगातार तीन पटक (बुधबार, बिहीबार र शुक्रबार) ३–४ घन्टा दुई अध्यक्ष वार्तामा बसे । तर, उपलब्धी केही भएन । चिया गफमै मात्र सीमित रह्‍यो शीर्ष भेटघाट ।

आज (मंगलबार) बिहान पनि करिब ३ घन्टा ओली र दाहाल एकान्त वार्तामा बसे । वार्ता सकारात्मक भनिए पनि विवादित विषय टुंगिएका छैनन् । वार्ता निष्कर्षहीन सकिए पनि नेताहरुले भने सकारात्मक भएको दावी गर्दै आएका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आजको वार्ता सकारात्मक भए पनि कुनै ठोस निर्णय भने नभएको बताए । “आज भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक छ । दुवै जना सहमति नजिक हुनुहुन्छ, पार्टी एकतालाई छिट्टै टुङ्गोमा पुर्याउने तयारीमा हुनुहुन्छ । आज पनि वार्तामा छलफलमात्र हुने काम भयो, कुनै ठोस निर्णय भने भएन,” सापकोटाले भने ।

नेताहरुका अनुसार पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच विवादित भनिएका विषयहरु एकीकृत पार्टीको चुनाव चिन्ह र जनयुद्धबाहेक केन्द्रीय कमिटीको भागवन्डा पनि हो ।
माओवादी केन्द्रले बराबरी र समान हैसियतमा पार्टी एकताको अडान राखेपछि एकताले गति लिन नसकेको एमाले नेताहरुको बुझाइ छ । तर, माओवादी केन्द्रका नेताहरु त्यसलाई स्वीकार गर्दैनन् । उनीहरु एकता समानता र समान हैसियतमा हुनुपर्ने स्वभाविक भएको भन्दै एकअर्कामा अविश्वासको कारणले वार्ता अगाडि बढ्न नसकेको दावी गर्छन् ।

माओवादी केन्द्रका नेता एवं पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले शीर्ष नेताको मन माझिन बाँकी रहेकाले एकता प्रक्रिया अघि नबढेको बताए । “नेताहरुबीच मनमा केही माझिन बाँकी छ । अब छिट्टै एकता हुन्छ । विषय मिल्न बाँकी केही छैन मन मिल्न मात्र बाँकी छ,” उनले भने ।

 

Comment with Facebook

Share This News !

Ads




shares