विस्थापितलाई बासको चिन्ता

सिन्धुपाल्चोक — भूकम्पपछि आफ्नो गाउँ पहिरोको जोखिममा परेपछि जुगल गाउँपालिकाको सेलाङस्थित बासखर्कका शिव थापालाई बासको चिन्ताले पिरोलेको छ । अनुदान रकममाथि ऋण लिएर पाल हालेका उनको ४ जनाको परिवार सरकारले जग्गा दिए घर बनाउने आशामा छ ।
‘पालमा दुई वर्ष झेलियो, अझै सुरक्षित बासको टुंगो छैन ।’ थापाले भने, ‘ऋण लिएर छाक टारिरहेका छौं, कतिन्जेल यसरी धानिने हो ।’ उनले अरूबाट लिएको ऋण तिर्न मजदुरी गर्न जाने गरेको बताए । पक्की घर बनाउने सपना बोकेको उनको परिवार माघको जाडो कटाउने पिरलोमा छ । पालको बसाइले दम, खोकी र ज्वरोले च्यापेपछि गल्दै गएकी सेलाङ काफ्लेगाउँकी कृष्णमाया गुरुङलाई आफ्नो स्वास्थ्यभन्दा टहरा बनाउँदा लिएको ऋण तिर्न नसकेको चिन्ता छ । ‘अनुदान र भत्ता औषधिमा सकें, ऋण बोकेर पालमै मरिएला जस्तो छ ।’ ८४ वर्षीया गुरुङले भनिन् । भूकम्पपछि गएको पहिरोले गाउँ नै पुरिएपछि आश्रय खोज्दै ३ जनाको गुरुङ परिवार बोल्देगाउँबाट सेलाङको बासखर्कमा सरेको थियो ।
सबै पहिरोले पुरिएपछि छिमेकीबाट भाँडाकुँडा, कपडा मागेर काम चलाएको उनले बताइन् । टालेको पालमा बस्दा चिसो सिरेटोबाट बच्न मुस्किल भएको जुगल गाउँपालिका बतासे खाल्डेबाट आएकी मञ्जु श्रेष्ठ बताउँछिन् । ‘पालको प्वाल टाल्दै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘हिउँद थेग्न साह्रै असहज भयो ।’ भूकम्पपछि गएको पहिरोले स्याउले, सेलाङ, गोल्चे, गुम्बा, बतासे र पाङताङबाट आएका १ सय ५४ परिवार सेलाङको बासखर्क, खरीगाउँ, काफ्लेगाउँमा बस्दै आएका छन् । यसअघिका पुनर्निर्माण प्राधिकरण सीईओ डा.गोविन्द पोखरेलले विस्थापित बसेको जग्गामै एकीकृत बस्ती बन्ने आश्वासन दिएका थिए । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहजीकरणमा उक्त नमुना एकीकृत बस्ती बनाउने योजना अझै नथालिएको स्थानीय तोपबहादुर लामाले बताए । ‘बस्ती पुगेका नेतादेखि प्रमुखलाई पीडा सुनायौं ।’ लामाले भने, ‘हाम्रो जीवनमा केही परिवर्तन आउन सकेन ।’ उनले बस्तीमा पुगेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई १ सय ५४ परिवारको कागजात बुझाइसकेको सुनाए । सेवा केन्द्रका कार्यक्रम व्यवस्थापक जगत बस्नेतका अनुसार हालसम्म विस्थापित परिवारको यकिन विवरण नआएकाले प्रक्रिया थालिएको छैन ।

Comment with Facebook

Share This News !

Ads




shares