नेपालले संघीयताको हैसियत धान्नै सक्दैन : रामशरण महत

नेपाली कांग्रेस का नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत ले नेपालले संघीयतालाई धान्न सक्ने अवस्था नभएको बताउँदै उनले भने, ‘प्रशासनिक र राजनीतिक खर्च बढी छ। खर्च धान्न नसकेर संघीयता असफल हुन सक्छ।’

प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता महतले राज्यले धान्न सक्ने र व्यवस्थापन गर्न सक्ने हिसावको संघीयता निर्माणमा आफूले पहिल्यैदेखि जोड दिएको पनि बताए।

प्रशासनिक र राजनीतिक संरचना अत्यन्त खर्चालु भएका कारण संघीयता धान्ने हैसियत मुलुकमा नरहेको उनको तर्क थियो। मितव्ययी बनेर उत्पादनशील क्षेत्रमा मात्र खर्च गर्न सक्दा त्यसले फाइदा पुग्ने उनको भनाइ छ।

‘सरकारले अनुत्पादनशील क्षेत्र र उपभोगमा मात्र खर्च गरिरहेको छ,’ महतले भने, ‘अनुत्पादक क्षेत्रमा कम र विकासमा बढी खर्च गर्दा संघीयता टिक्न सक्छ।’

अहिलेको सरकारमा सुविधाभोगी प्रवृत्ति बढेको उनको टिप्पणी छ। सुशील कोइराला नेतृत्वको सरकारपछिका सबै सरकार खर्चालु स्वभावबाट संचालन भइरहेको र मितव्ययी बन्न नसकेको आरोप उनले लगाए। बढी खर्च गर्ने प्रवृत्तिले संघीयतालाई असफल बनाउने बताउँदै महतले उपभोगमुखी खर्च नियन्त्रण गरेर विकासमुखी खर्च गर्न सुझाव दिए।

उनले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको काम कारवाहीको आलोचला पनि गरे। भने, ‘जनादेश प्राप्त गरेर कामचलाउ बनिसकेको सरकारले जथाभावी र दूरगामी असर पार्ने खालका नियुक्ति गर्नु गैरजिम्मेवारपन हो। कामचलाउ सरकारले मनलाग्दी नियुक्ति गर्न मिल्दैन।’

Comment with Facebook

Share This News !

Ads




shares