समाचार पढ्न सुन्दरी हुनैपर्छ ?

बितेका १० वर्षमा मैले अनगिन्ती समाचार सुनाएँ। दर्शकले मलाई हेरिरहेका बेला म टेलिप्रम्प्टरमा हेरिरहेकी हुन्थेँ। मलाई नियाल्ने प्रोड्युसरचाहिँ मास्टर कन्ट्रोल रुममा हुन्थे। यस्तो त्रिकोणात्मक प्रयत्नमा खबरका कारोबार गरिरहेँ।

महत्वपूर्ण कुरालाई सुरुमै भन्न हामी अभ्यस्त छौं। समाचारको शैलीमा भन्दा म अहिले एपीवान टेलिभिजनमा छु। यसअघि कान्तिपुर टेलिभिजनमा थिएँ। मसँग रेडियोमा कार्यक्रम चलाएको अनुभव पनि छ।

सधैं अरूका खबर लिएर उपस्थित हुने म आज आफ्नै कथा पेस गर्दैछु। समाचारमा व्यावसायिक वि श्राम हुन्छ, तर हामी व्यावसायिक पत्रकारले वि श्राम पाउन पनि बिरामी हुनपर्छ। १२ वर्षपछि मैले एउटा टेलिभिजनबाट वि श्राम लिएँ। र, अर्को टेलिभिजनसँग जोडिनुअघि आफ्नै यात्रालाई फर्केर हेर्ने समय पाएँ।

‘तिमी त टेलिभिजनमा काम गर्नुपर्ने मान्छे !’

मेरा ’boutमा यस्तो टिप्पणी गरिनुअघि मैले त्यस्तो सपनै देखेको थिइनँ। म त रेडियोमै मस्त थिएँ।

रिचर्ड माक्र्सको ‘इन्डलेस समर नाइट’ टाइपका गीत बजायो, तन्नेरी श्रोताको प्रतिक्रिया सुन्यो, मक्ख प¥यो। कार्यक्रम जीवनजस्तो थियो। जीवनमा कार्यक्रमको ‘फ्लेभर’ थियो। चितवनको सानो परिवेशमा अलग्गै शैलीले परिचित हुँदै थिएँ। मेरा श्रोतालाई लाग्थ्यो, चितवनमा केही फरक हुँदैछ। अंग्रेजी गीत नबुझे पनि मेरा कार्यक्रममा वाहवाही गर्नेको संख्या बढ्दो थियो। छोटै समयमा श्रोताको अपार माया, अनि हरेक दिन रोमाञ्चक।

‘यत्तिको आवाज र अनुहार भएको मान्छेले त काठमाडौंमा कार्यक्रम चलाउन पर्छ’, काठमाडौंबाट हाम्रो एफएम निरीक्षण गर्न आएका मान्छेले मेरो ‘फेन्टेसी’मा रङ घोल्न थाले। उसबेला काठमाडौं अर्कै ग्रहजस्तो लाग्थ्यो। त्यहाँका मानिसका सब कुरा ठूला लाग्थ्यो। यस्ता प्रतिक्रिया नियमित आउन थालेपछि मलाई काठमाडौंतिर उडान भर्न मन लाग्यो।

रेडियोमा बोलेर हिट भएकै छु, टीभीमा बोल्न के गाह्रो होला र ! ज्ञान थिएन तर आत्मविश्वास र हौसलाको भरमा म टेलिभिजन दुनियाँमा प्रवेश गरेँ। कहिलेकाहीँ के गर्ने भन्ने प्रश्नको जवाफ हुँदैन तर प्रश्नहरू सामना गर्ने ताकत आफैं आउँछ। मलाई त्यस्तै भएको थियो।

काठमाडौं छाड्ने बेलातिर रेडियोका म्यानेजरले उर्दी जारी गरेका थिए, ‘तिम्रो आवाजमा दम छ। समाचार पढ्नैपर्छ।’ रुचि नभए पनि जागिर बचाउन मैले अरूले लेखेको समाचार पढेको थिएँ।

काठमाडौं आएपछि टेलिभिजन समाचारसँग जोडिने भएँ म।

गानाबजाना, कलिङ कार्यक्रम, युवा श्रोताका प्रश्न र ठट्टाको माहोलबाट म एक्कासि टेलिभिजनको समाचार शाखामा जोडिन आइपुगेकी थिएँ। समाचार भनेकै राजनीति र राजनीतिमात्रै समाचार बन्ने बेला थियो। जनआन्दोलन–२ सकिएको थियो। माओवादी खुला राजनीतिमा आउँदै थिए। म आफ्नो खुला परिवेश छोडेर टेलिभिजनमा बोल्ने मोहमा परिस्थितिको बन्धनमा परिसकेको थिएँ।

म यस्तो समयमा पत्रकारितामा छिरेको थिएँ कि हरेक दिन नयाँनयाँ विषयले मुलुक ताती नै रहन्थ्यो। सेना समायोजन, संविधानसभा गठन, गणतन्त्र कि बेबी किङजस्ता अनेकौं एजेन्डाले समाचार बजार गुल्जार थियो। म एजेन्डाविहीन थिएँ। कुनै घटनाको गहिराइ ठम्याउन सक्दैनथेँ। यी तमाम विषयमा मेरो कुनै जिज्ञासा थिएन। थियो त मात्र टेलिभिजनमा देखिने हुटहुटी।

टेलिभिजनमा राम्रो देखिन के गर्नुपर्छ भन्ने सामान्य प्राविधिक ज्ञान पनि थिएन तर आत्मविश्वास थियो। अध्ययन र ज्ञानले दिएको आत्मविश्वास हैन डरले जन्माएको। डर र अज्ञानता छोप्न म आत्मविश्वासी भएको अभिनय गर्थें। र, अरूले लेखेर दिएको समाचार नबिगारी पढ्नु मेरो एकमात्र मिसन हुन्थ्यो।

भर्खरै युद्धको ओज लिएर खुला राजनीतिमा छिरेका पुष्पकमल दाहालका भनाइ र आन्दोलनको तापले गलेका कमल थापाका ‘बाइट’को तौल नाप्न सक्दैनथेँ। राजनीतिका तर्कशास्त्रमा कसको बोलीले जित्थ्यो मलाई थाहा थिएन। नअक्मकिई, नबिगारी, नलर्बराइ समाचार पूरा गरेको दिन मलाई जितेजस्तो लाग्थ्यो।

समाचार र सुन्दरताको के सम्बन्ध ? के टीभी–समाचार सलक्क परेका लोभलाग्दा युवतीले मात्रै भन्ने पेसा हो ? उसो भए पुरुषका लागि सुन्दरताको परिभाषा के हो ?

आज म आईएसको बर्बरता र चाबहिलको जाममा यात्रुले खपेको सास्तीका खबरको वजन तौलन सक्छु। समाचारको तौलअनुरूप भाव दिन सक्छु। आज मलाई थाहा छ, कसैले टेलिप्रम्प्टरमा लेखिदिएका निर्जीव शब्दमा कसरी प्राण भर्न सकिन्छ। आज म समाचारभित्रका समाचार र समाचारभित्रका असमाचारलाई छुट्याउन सक्छु। आज मलाई हरेक चिजमा जिज्ञासा जाग्छ। आज मस“ग हरेक घटनामाथि प्रश्न हुन्छ। किनकि म आज समाचार पढ्नेबाट भन्ने हुँदै समाचार बुझ्ने भएकी छु। आज मेरा मस्तिष्कमा हरदम प्रश्नको बास हुन्छ।

र, यो समाचार कक्षमा बिताएको १२ वर्षको फल हो। तीता, मीठा, बिझाउने, सुझाउने धेरै पात्र र परिवेशले दिएको उपहार हो।

समाचारकक्षमा छिर्नासाथ एकजना अग्रज पत्रकारले भने, ‘तपाईं क्यामेरामा खासै राम्री देखिनुभएन, त्यसैले बढी मेहनत गर्नुपर्छ।’ उनले सभ्य भाषामा मलाई तँ नराम्री छेस् भनिरहेका थिए। २० वर्षको उमेरमा कसैले मेरो आवरणलाई लिएर गरेको टिप्पणी उबेला मेरो मनमै गड्यो। मैले उनको प्रतिक्रियाको सोझो अर्थ निकालेँ, ‘तँ नराम्री छेस्, त्यसैले आवरणबाट परिपूर्ति गर्न नसकेका कुरा मस्तिष्क लगाएर पूरा गर।’

खिलजसरी त्यो प्रतिक्रियाले मलाई अहिले पनि घोच्छ।

त्यति बेला नाजवाफ भए पनि अहिलेको मेरो तर्कशक्तिले भन्छ, समाचार र सुन्दरताको के सम्बन्ध ? के टीभी समाचार अति सुन्दरीले मात्रै भन्ने पेसा हो ? के सुन्दर युवतीले समाचार बुझ्न पर्दैन ? सलक्क परेका लोभलाग्दा युवतीले मात्रै समाचार भन्नुपर्छ भन्ने मनोविज्ञानको जड ती विद्वान्ले बुझेका होलान् ? फेरि पुरुषका सम्बन्धमा सुन्दरताको परिभाषा के होला नि ?

के यो समाज महिलामात्र ‘अब्जेक्टिफाई’ होस् भन्ने चाहन्छ र !

केहीअघि एउटा विज्ञापनका लागि हलिउड अभिनेता ब्राड पिट र पूर्वसुपरमोडल लिन्डा इभेन्जेलिस्टाको फोटो सेसन भयो। त्यो फोटोमा ४९ वर्षीय पिटलाई उनको स्वाभाविक उमेरजसरी नै प्रस्तुत गरिएको थियो भने ४७ वर्षीया लिन्डालाइ कम उमेरकी देखाउन अस्वाभाविक रूपमा फोटोसप प्रयोग गरिएको थियो। उस्तै उमेरका पिट र लिन्डालाइ किन फरक तरिकाले प्रस्तुत गरियो ? यो प्रवृत्तिविरुद्ध संसारभरका महिलाले आवाज उठाए। महिलाको उमेरलाई किन स्वाभाविक रूपमा लिइँदैन भन्ने बहस पनि चल्यो।

हामी यस्ता विषयमा बहस गर्ने तहमा अझै पुगेका छैनौं। नभए समाचारसँग रूप जोडेर टिप्पणी गर्ने ती विद्वान् पत्रकारलाई त्यतिखेरै भन्न सकिन्थ्यो होला।

संसारभर महिलाको उमेरलाई किन सधैँ स्वाभाविक रूपमा लिइँदैन भनेर बहस चल्न थालेको छ। तर, यस्ता बहसले विचार पैदा गर्न सकेको छैन। किनकि महिला स्वयंले उमेरलाई करिअर वा सुन्दरताको गिरावटका रूपमा लिइरहेका छन्। महिलाको उमेरलाई ‘ग्रेसफुल्ली’ किन हामी स्वीकार गर्न सक्दैनौं ? किन समाचार वाचन गर्ने महिलाको भविष्यमाथि चिन्ता गरिन्छ तर पुरुषका ’bout कुनै चिन्ता हु“दैन ?

टेलिभिजन देखिने माध्यम हो। यसमा ग्ल्यामर छ। त्यो ग्ल्यामर उमेरजन्य मात्र हो भने पुरुषको हकमा किन लागू हुँदैन ? ओफ्रा विन्फ्रेले ३० पछि करिअरको शिखर छुँदा हामीकहाँ किन उमेरसँगै माझिने अनुभवको कदर हुँदैन ? दोष हाम्रो पनि छ। हामीले समय त गुजार्‍यौँ तर आफूलाई समाचार पढ्नेबाट बुझ्ने र विश्लेषण गर्नसक्ने बनाएनौं। त्यसैले महिलाले पनि प्रभाव छाड्न सक्छन् भन्ने मान्न यो समाज अझ तयार छैन।

‘तपाईं पछि के गर्नुहुन्छ ? ’ ब्रोडकास्ट जर्नलिस्ट महिलालाई बारम्बार यस्ता प्रश्न गरिन्छ। तर, उसकै पुरुष सहकर्मीले यस्ता प्रश्नको सामना गर्नु पर्दैन। भिक्टोरिया सिक्रेटका मोडलजस्ता महिला टीभीमा आएको रुचाउने समाज केल्भिन क्लेनका पुरुष मोडलजस्तो ‘पर्सनालिटी’को माग गर्दैन किन ?

टेलिभिजनको ग्ल्यामर उमेरजन्य मात्र हो भने पुरुषको हकमा किन लागू हुँदैन ? ओफ्रा विन्फ्रेले ३० पछि करिअरको शिखर छुँदा हामीकहाँ किन उमेरसँगै माझिने अनुभवको कदर हुँदैन ?

श्रोता, दर्शक र आफ्नै सम्पादकीय नेतृत्व मात्र हैन; श्रोताले पनि महिलालाई विश्वास गरिहाल्दैनन्। एकजना पूर्वअर्थमन्त्रीले त्यस्तै गरे। ‘बजेट प्राविधिक विषय हो’, शालीन अभिव्यक्तिमा उनले मैले नसक्नेजस्तो आशय देखाए। यस्तो जटिल विषयमा महिलालाई ज्ञान नहुनेजस्तो गरे। अन्तर्वार्ता सकिएपछि पनि अविश्वास देखाए, ‘तपाईंलाई भित्रबाट कसले सहयोग गर्‍यो ? निकै र्‍याखर्‍याख पार्नुभयो त !’

मलाई यो घटनाले पछिसम्म असजिलो बनायो। के कुनै पुरुष अन्तर्वार्ताकार भएको भए पनि यस्तै प्रतिक्रिया आउँथ्यो ?

अर्को प्रसंग पनि छ। शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका एकजना नेता स्टुडियो आए। मेरा दुई महिला सहकर्मी अन्तर्वार्ताका लागि तयार थिए। तर, ती नेताले अपत्यारिलो भावमा तलदेखि माथिसम्म नियाल्दै भने, ‘तपाईं नै हो अन्तर्वार्ता लिने ? ’

विकासका अनेक योजना कोर्दै महिला सशक्तीकरण र उत्थान गर्न हिँडेका अर्थमन्त्री र युद्धमा होमिएको शक्तिलाई मूलधारमा ल्याउने नेताज्यू त महिलाका ’bout यति संकुचित देखिए भने अरूका के कुरा गर्नु !

सहज विदेश भ्रमण, सजिलै भिसा लगाउन र क्षणिक लाभका लागि जो म्यादी पत्रकार बन्न आए, तिनलाई मिडियाहरूले कम पारि श्रमिक दिएर टेलिभिजन स्क्रिनको ‘ग्ल्यामर’ बढाए। समाचार वाचिकालाई ‘सेल्स पर्सन’ मात्रै बनाए। उनीहरूको वृत्तिविकासमा कुनै लगानी गरेनन्। सुन्दर चेहरा स्वयंमा मौन सिफारिस हो तर सुन्दरताकोे परिभाषा साँघुरो र अपूरो हुँदा त्यसको मारमा महिला मात्र परे।

महिला भएकै कारण गरिने आलोचना वा अतिरिक्त वाहवाही दुवै मलाई अप्रिय र भारी लाग्छ। यस्तो अवस्थामाथि मुख नखोल्ने हो भने पत्रकारितामा भविष्य देखेर आएका पुस्तामाथि अन्याय हुन्छ। अब समाजसँगै महिला पत्रकारले आफ्नो भविष्यको पनि जवाफ खोज्ने बेला आएको छ। जसरी पत्रकारिता विस्तार हुँदै विकासको चरणमा पुगेको छ, त्यसको फाइदा हरेक महिलाले पनि उत्तिकै वजनका साथ उठाउन पाउनुपर्छ र यसका लागि अध्ययन र परि श्रमको विकल्प छैन।

अनुभव भनेको समय गुजार्ने खेल मात्र होइन, बुद्धिमत्तापूर्ण समयको सदुपयोग पनि हो। हरेक समय र कालखण्डमा मानिस खारिनुपर्छ। गति तलमाथि होला तर खारिने इमानदार प्रयत्न सदैव राख्नुपर्छ। अब हामीले स्टुडियोमा निम्त्याएका अतिथिलाई मात्र होइन, सामाचारका विषयमा मात्र होइन, महिला पत्रकारको मानक तयार गर्नेलाई पनि प्रश्न गरौं। आफूमाथि भएको विभेदमा पनि प्रश्न उठाऊँ। प्रश्नले नै हो उत्तर मिल्ने। कतिपय उत्तर समाधानका अस्त्र पनि बन्छन्। जवाफ मागौं। जवाफदेही बनौं।

Comment with Facebook

Share This News !

Ads




shares