बाल पोषण भत्ता वितरण कार्यक्रमको थप प्रक्रिया अघि बढ्यो

मंसिर २८, २०७४ – बाल पोषण भत्ता वितरण कार्यक्रम ६ जिल्लामा विस्तारका लागि सरकारले थप प्रक्रिया अघि बढाएको छ । केन्द्रीय पञ्जीकरण विभागले दशै अघि नै सुरु गर्ने तयारी गरेपनि अर्थ मन्त्रालयले समयमै बजेट विनियोजन नगर्दा कार्यक्रम अन्यौलमा परेको थियो । विभागले यसवर्ष डोटी, बाजुरा, कैलाली, सर्लाही, महोत्तरी र जाजरकोटका बालबालिकालाई भत्ता वितरण गर्न लागेको हो ।
भत्ता वितरण सम्बन्धी अर्थ मन्त्रालयको प्रस्ताव गरिबी निवारण तथा शहरी विकास मन्त्रालयले स्वीकृत गरेपछि पुन: गृहकार्यमा जुटेको विभागका निमित्त महानिर्देशक भगवान अर्यालले बताउनुभयो । गरिबी निवारण मन्त्रालयको राय पनि कार्यक्रम विस्तार गर्नुपर्ने भएकाले २/४ दिनमै अर्थ मन्त्रालयमा पुन: प्रस्ताव पेश गरिने अर्यालको भनाई छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि कार्यक्रम सुरु गर्न ती जिल्लाका स्थानीय तहमा बजेट पठाइने विभागले जनाएको छ । सरकारले अति गरिबीको सूचकांकमा परेका पाँच वर्ष मुनिका बालिबालिकालाई ४ सय रुपैयाँका दरले पोषणयुक्त उपभोग्य वस्तुका लागि बाल पोषण भत्ता दिंदै आएको छ । सरकारले गतवर्ष माघदेखि अछाम, बझाङ र रौतहटमा भत्ता दिन सुरु गरेको थियो ।

Comment with Facebook

Share This News !

shares