मदन भण्डारी संग्रहालय तयारी अवस्थामा

दमक: चैत्र १५, २०७४ — मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनीमा आधारित ‘संग्रहालय’ निर्माण गरेको छ । मोरङको उर्लाबारी–३ मंगलबारेमा अवस्थित प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारीक गतिविधिलाई समेटेर संग्रहालय निर्माण गरेको हो ।

मदन भण्डारी संग्रहालय शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् । राष्ट्रपति भण्डारी मदनकी धर्मपत्नि हुन् । २०५० साल जेठ ३ गते चितवनको दासढुंङ्गामा रहस्यमय जीप दुर्घटनामा ज्यान गुमाएका मदनको ‘वायोग्राफिक म्यूजियम’प्रतिष्ठानले तयार पारेको हो ।

मदनको ताप्लेजुङ्गको ढुंङ्गेसाँघुस्थित जन्म घर, बसाइँ आएपछि मोरङको इटहरास्थित घर र राजनीतिक जीवनका क्रममा राजधानी लिएको डेरालाई संग्रहालयमा दुरुस्तै उतारिएर राखिएको छ । संग्रहालयको बाह्य कक्षमा दासढुङ्गा दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जीप राखिएको छ ।

२ बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र मदन भण्डारीको पूर्णकदको शालिक, पुष्प बाटिका, बाल उद्यान निर्माण गरिएको छ । तीन तलाको संग्रहालय भवनमा १६ वटा कक्ष निर्माण गरिएका छन् । जसको भुई तलामा मदनको राजनीतिक एवं सामाजिक जीवनका घटनाक्रमलाई शिलशिलाबद्ध रुपमा तथ्य र प्रमाणसहित राखिएका छन् । ती घटनाक्रमहरुसंग सम्बन्धित श्रव्यदृष्य सामग्रीहरुको समेत व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए । प्रतिष्ठान, सरकारी एवं विभिन्न दाताको सहयोगमा तीन करोड लागतमा १० बर्ष समय खर्चिएपछि संग्रहालय निर्माण गर्न सकेको बरालले बताए । ‘हामीलाई उहाँको जीवनसंग सम्बन्धित घटनाक्रमहरु, महत्वपूर्ण दस्तावेज, प्रकाशित सामग्री, पारिवारीक एवं भूमिगत कालका गतिविधिहरु संकलन गर्न धेरै मेहेनत र समय लाग्यो’ अध्यक्ष बरालले भने ।

२०१७ सालको फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ मा नेत्र गुरागाईको हत्या, २०२१ मा क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ को झापा विद्रोह र त्यसपछिको कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशाकाबारे जानकारीहरु संग्रहालयमा पाउन सकिन्छ । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने क्रममा विभिन्न पार्टी र संगठनसंग एकीकरण गर्दै ०३५ पुस ११ गते मदनको इटहरास्थित घरमा स्थापना गरिएको तत्कालीन नेकपा (माले) बारे जानकारीहरु पनि संग्राहलयमा राखिएका छन् ।

यसका लागि पार्टी एकीकरण कक्ष नै तयार पारिएको छ । जहाँ विभिन्न कम्युनिष्ट समूहहरुको एकीकरण प्रक्रिया र इटहरामा नेकपा (माले) गठनसंग सम्बन्धित श्रव्यदृष्य सामग्रीहरु समेत प्रदर्शन गरिने छ । ती सामग्रीमा मदनले राजनीतिक रुपमा सुरु गरेका बहस, चिन्तन मननका बर्षहरु (२०३४–२०४९) अवधिका सम्पूर्ण गतिविधिहरु उपलब्ध छन् । ०३६ देखि ०४८ बीचको वैचारिक विकासका बहुआयामिक पक्षमा मदनका प्रतिनिधि विचारलाई समेत प्रस्तुत गरिएका छन्

Comment with Facebook

Share This News !

Ads




shares