भ्रष्टाचारको अभियोगमा ७ वर्षको जेल सजाय

काठमाडौँ, फागुन १० गते।
विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ । बाँकी सबैले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सहित सदस्यहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले सुभाष निरौला, अनिल दास र महेन्द्र खनाललाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले सुवास निरौलालाई ६ वर्ष कैद थप १ वर्ष समेत गरी ७ वर्ष कैद सजाय सुनाएको छ भने ८० लाख ५१ हजार ३६२ रुपैयाँ जरिवाना सहित थप ५४ लाख ५९ हजार ७२३ रुपैंया विगो तोकेको छ।

लेखा प्रमुख अनिल दासलाई ६ वर्ष कैद सहित ५० लाख २९ हजार ५४ रुपैयाँ जरिवाना र २४ लाख ३७ हजार ४ सय १५ विगो हुने ठहर गरेको छ। अर्का प्रतिवादी महेन्द्र खनाललाई १ लाख ५४ हजार २२४ रुपैयाँ जरिवाना तोकेको छ।

२०७१ चैत २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको आरोपपत्रमा समावेश गरेको नाम एकाएक सार्वजनिक भएपछि नेपालको सार्वजनिक प्रशासनबारे जानकार अधिकांश व्यक्ति स्तब्ध भए।

निजामती प्रशासनमा अत्यन्त इमान्दार र सज्जन भनेर चिनिएका वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेललाई अख्तियारका विवादास्पद प्रमुख लोकमानले प्रतिशोधकै कारण भ्रष्टाचार मुद्दामा मुछाएका थिए। गृह प्रशासनका जानकारहरुका अनुसार, अध्यागमन विभागको महानिर्देशक हुँदा नै लिएको अडानका कारण उनी निशानामा परे।

‘त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन डेस्कलाई सकेसम्म बदनाम गर्ने र त्यहाबाट कर्मचारी हटाएर प्रहरीबललाई मात्रै जिम्मेवारी दिने रणनीतिका साथ अख्तियारका तत्कालिन प्रमुख लोकमानले गोटी चालिरहेका थिए,’ गृहप्रशासन स्रोतले भन्यो, ‘संसदले ऐन संशोधन नगरी यस्तो संवेदनशिल विषयमा कुनै फेरबदल गर्नुहुदैन। अध्यागमनमा रहेको निजामती जनशक्ति हचुवाको भरमा हटदैन भन्ने अडानकै कारण पौडेलमाथि बदनियतपूर्वक प्रहार भयो र भ्रष्टाचार मुद्दा लगाइयो।’

अध्यागमनमा प्रहरी परिचालन गर्ने र त्यो जनशक्तिको दुरुपयोग गरी मनोमानी निर्णय गर्ने लोकमानको योजनामा तगारो लागेपछि लोकमानका लागि तत्कालिन महानिर्देशक शरद ‘असह्य’ भएका थिए।

यो घटनामा यतिसम्म मिलेमतो थियो कि प्रहरीबलका आधारमा मात्रै विमानस्थलको अध्यागमन सञ्चालन गर्ने कार्कीको योजनामा तत्कालिन गृहमन्त्री बामदेव गौतम उभिएका थिए। त्यतिबेला एमाले समर्थित गृहका सहसचिवहरुले समेत यस्तो प्रस्तावलाई अघि बढाउन खोजेका बेला पौडेल मात्रै विपक्षमा थिए। पौडेललाई जसरी पनि ठिक पार्ने योजनामा रहेको अख्तियार प्रमुख कार्कीले नेपाल पर्यटन बोर्डको अनियमितता छानविनका पदिय रुपमा उनी समेत सदस्य रहेको भेटाएपछि जबरजस्ती रुपमा भ्रष्टाचार मुद्दामा जोडिदिए।

Comment with Facebook

Share This News !

Ads




shares