प्रतिनिधिसभा निर्वाचनका १० आयाम

प्रतिनिधिसभा निर्वाचनका १० आयामः अनौठा देखिए समीकरण

२६ मंसिर, काठमाडौं । गत २४ कात्तिकमा केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग सम्भव रहेको प्रतिवेदन चिनियाँ टोलीले नेपाल सरकारलाई दियोे । त्यसको तीन दिनपछि २७ कात्तिकमा बूढीगण्डकी जलविद्युतको निर्माण चिनियाँ कम्पनीलाई जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले उल्ट्यायो ।

उक्त सरकारी निर्णय चिनियाँ टोलीका लागि देउवा सरकारको जवाफ थियो, केरुङ-काठमाडौं रेल आवश्यक छैन ।

त्यसको १३ औं दिन नेपाली जनता संघीय गणतन्त्र नेपालको पहिलो संसदका लागि मतदानमा सहभागी हुँदै थिए । र, उक्त चुनावको केन्द्रविन्दुमा असोज ०७२ देखि भारतले लगाएको नाकाबन्दी थियो । भारतविरोधी मनोविज्ञान मैदानमा मात्र नभई मतपेटिकामै पुग्दै थियो ।

र, भविष्यमा भारतको नाकाबन्दी ब्यहोर्नु नपर्ने विकल्प चीनतर्फको पारवहन खोल्नु रहेको बुझाइ आम नेपालीमा ०७२ सालमै झाँगिएको हो । कांग्रेसका मन्त्रीहरुको विरोधका बावजुद उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले बूढीगण्डकी सम्झौता रद्द गराएका थिए । त्यसको नकारात्मक असर भने थापाले मात्र नभई कांग्रेसले पार्टीले नै भोग्यो ।

अर्थात्, राप्रपा अध्यक्ष थापाले यसपटक मुसाको काम गरे, कांग्रेसको जहाजमा । तर, जहाजमा प्वाल पार्ने मुसो आफैं जहाजसँगै पानीमा डुब्यो ।

यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक आयाम हो यो । संयोगवस, बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने पूर्ववर्ती सरकारको निर्णयको विरोध गर्दै आएका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई कांग्रेसकै समर्थनमा गोरखा-२ बाट निर्वाचित भएका छन् ।

फेरि एमाले-माओवादी गठबन्धनमा सहभागी हुन नगए कांग्रेस नेताहरुको आशा पनि उनै डा. भट्टराईसँग देखिन्छ । संसदमा वाम गठबन्धनले गर्ने कामहरुको आलोचनामा उनी खरो ढंगले प्रस्तुत हुने र त्यसबाट कांग्रेसलाई बलियो साथ मिल्ने आशामा देखिन्छन्, उक्त पार्टीका नेता/कार्यकर्ता । यसपटकको आम निर्वाचनको यो दोस्रो आयाम हो ।

सधैं आरोपित रहने गरेको भारत यसपटकको चुनावमा कति प्रभावी रह्यो ? आफूलाई भारत निकटस्थ देखाउँदै आएका कांग्रेस नेताहरु विमलेन्द्र निधि, अमरेशकुमार सिंह मात्र होइन, प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणासम्मको स्थितिले भारतको प्रभावहीनता झल्काउँछ ।

चुनावबाट सबैभन्दा ठूलो दल बनेको एमालेलाई भारतविरोधी र चीन निकटस्थको आरोप लाग्दै आएको छ । लामो समय मधेसकै राजनीतिमा रमाएका हृदयेश त्रिपाठीले एमालेकै चुनाव चिन्ह सूर्य लिएर नवलपरासी पश्चिम-१ बाट चुनाव जित्नुको संकेत मधेसमा भारतको पकड कमजोर बनेको संकेतका रुपमा बुझ्न सकिन्छ ।

कपिलवस्तु-२ बाट सूर्य चिन्हमै चुनाव लडेका मधेसवादी नेता बृजेश गुप्ता पनि निर्वाचित भए । पहाडमा त पुनः प्रभाव देखिने सम्भावना कमजोर बनाइसकेको थियो ०७२ सालमै, भारतले ।

राजदूत मञ्जीवसिंह पुरीको ‘कोर्स करेक्सन’को प्रयासका बावजुद पनि भारतले लोकप्रियताको ग्राफ बढाउन सकेको छैन । के मधेसमै पनि त्यसको प्रतिबिम्ब देखिएको हो ? विगतजस्तो अनावश्यक सक्रियता नदेखाएका राजदूत पुरीलगायत अधिकारीको मौनताले त्यसैको संकेत गर्छ ।

खासमा, चीनले अगाडि सारेको विकास एजेन्डाका कारण भारतीयहरु अझै नेपालमा सुक्ष्म व्यवस्थापनमा हात हालिए आफ्नो मुलुकविरोधी मनोविज्ञान थप झांगिने आंकलनमा छन् । अनौपचारिक संवादमा बेला-बेलामा प्रकट हुने उनीहरुको अभिव्यक्तिले पनि त्यही संकेत गर्छन् ।

यसलाई आम चुनावको तेस्रो आयाम मान्न सकिन्छ ।

तराई मधेसमा भारतीय पक्षले चाहेजस्तो कमजोर ‘पोजिसन’मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम देखिएन । राजपा नेपाललाई एउटै पार्टी मान्न अझै तराई मधेसका बासिन्दा तयार देखिँदैनन् । ‘६ पार्टी’को संज्ञा पाएको छ, राजपाले । ‘सोलिड नेतृत्व’ त यादवकै देखिएको छ । र, राजनीतिक दाउपेचमा पनि उनी राजपाको तुलनामा खरो उत्रिएका छन्, यसपटक ।

मुलुकको आर्थिक ‘लाइफ लाइन’ वीरगञ्ज महानगर संघीय समाजवादी फोरमकै नेतृत्वमा छ । पर्सामा प्रतिनिधिसभाका चारमध्ये तीनवटा सिटमा सोही पार्टीले जित हात पारेको छ । ‘यस कोणबाट हेर्दा मधेसका मसिहाका रुपमा उपेन्द्र नै स्थापित भएको देखिन्छ,’ एक राजनीतिक विश्लेषक भन्छन्, ‘यसपटक आफ्नै बल, बुँतामा स्थापित हुन सफल देखिए ।’

यो आम निर्वाचनको चौथो आयाम हो । र, भविष्यमा उपेन्द्रको साथ प्राप्त गर्न नसक्ने दलले काठमाडौंको सत्ता हाँक्ने विषय ‘डेन्जर जोन’मा देखिएको ती विश्लेषकको बुझाइ छ । भविष्यमा एमाले र माओवादीले उपेन्द्रलाई हातमा लिने प्रयत्न गरे अनौठो नमाने हुन्छ । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवा नेतृत्वका सरकारमा उपप्रधानमन्त्री खान नगएर मधेसमा उपेन्द्रले साख जोगाएको उनी बताउँछन् ।

३० असोजमा लोकतान्त्रिक फोरमसहित आफ्नै पूर्वनेता विजयकुमार गच्छदारलाई आफूमा विलय गराउँदा कांग्रेस नेताहरुले ठूलै अक्सिजन पाएको महशुस गरेका थिए । गच्छदार आफैंलाई एमाले उम्मेदवार भगवती चौधरीले आच्छु आच्छु बनाइदिइन् । गच्छदार र राप्रपा अध्यक्ष थापाले यसअघि सत्तामा पुग्न देखाएको आतुरताको परिणाम भोगे, आम निर्वाचनमा ।

लोकतान्त्रिक फोरमको जनाधारका कारण कांग्रेसले १० वटा सिटसम्म हासिल गर्न सक्ने विश्लेषणमा थिए, उक्त पार्टीका नेताहरु । तर, उक्त पार्टी कांग्रेसमा विलय भएका कारण लोकतान्त्रिक गठबन्धनले उत्कृष्ट प्रदर्शन गर्न सकेको कहीं कतै देखिएन । खासमा, निरिहताका साथ गच्छदार कांग्रेस प्रवेश गरेको थाहा पाउन उक्त पार्टीका नेताहरुले मत परिणाम नै कुर्नुपर्‍यो ।

यो हो, आम निर्वाचनको पाँचौं आयाम ।

माओवादीलाई ४० प्रतिशत नदिएर गल्ति गरेको कांग्रेसले तराई मधेसमा बलियो जनाधार प्राप्त गर्न राजपा र संघीय समाजवादी फोरमसँग पनि बलियो गठबन्धन गर्ने इच्छा देखाएन । दुई मधेसी दललाई ४० प्रतिशत सिट जिम्मा लगाएर तराईका सबै जिल्लामा चुनावमा होमिएको भए वाम गठबन्धनका लागि चुनौती खडा हुन सक्थ्यो । एक्लै दौडिने देउवाको चाहनाले शिखरमा पुग्नै नपाई यात्रामा विराम लगाउनुको विकल्प दिन सकेन ।

यसलाई प्रतिनिधिसभा निर्वाचनको छैटौं आयाम मान्न सकिन्छ । मत विश्लेषण गर्दा मधेसी दललाई ४० प्रतिशत दिएर दोस्रो चरणको चुनावमा होमिएको भए महेश आचार्य, डा. शेखर कोइराला, अमृत अर्यालजस्ता कांग्रेसका हस्तिहरुले पराजयको सामना गर्नुपर्ने थिएन कि !

दोस्रो संविधानसभाका लागि ०७० सालमा भएको निर्वाचनमा माओवादी अध्यक्ष दाहालले कीर्तिपुर पुग्न हेलिकोप्टर प्रयोग गरेको घटनाले एक पटक माहोल गरम बनाएको थियो । यसपटक प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणाले कैलाली सदरमुकाम धनगढीमा तीन करोडको घर खरिद गरेको घटनाले राजनीतिलाई त्यसरी नै ततायो । चुनावको मुखमा अलोकप्रिय हुनुपर्ने हेक्कासमेत नराखेर मनोविज्ञानकी विद्यावारिधि डा. राणाले आम चुनावको सातौं आयामको धरातल तयार पारिन् ।

स्रोतहरुको भनाइमा भारतको मौनता अनौठो ढंगले प्रकट भयो यस पटक । त्यसो भए चीन पनि मौन थियो त ?

निर्वाचनको मुखैमा केरुङ-काठमाडौं रेलमार्ग सम्भव रहेको चिनियाँ पक्षको प्रतिवेदनले वामपन्थीहरुलाई भोट बटुल्ने प्रशस्त बहाना दिएको चीन मामिलाका जानकार एक राजनीतिक विश्लेषक बताउँछन् । भन्छन्, ‘यो बाह्य मामिलामा प्रभाव पार्ने चिनियाँ शैली भएको अहिलेसम्म शायदै कसैले बुझेको छ,’ उनी भन्छन् । र, यसलाई आम निर्वाचनको आठौं आयाम मान्न सकिन्छ ।

नवौं आयाम हो, राजावादी, हिन्दुवादी कित्तामा आफूलाई उभ्याएको राप्रपामा एमाले अध्यक्ष ओलीले खेलेको खेल । उक्त पार्टीका अध्यक्ष थापा एमाले उम्मेदवारसँग फराकिलो मत अन्तरले पराजित भइरहँदा महामन्त्री राजेन्द्र लिङदेनले भने सोही पार्टीको सहयोगमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराए । र, लिङदेनको निर्देशनमा एमाले अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाको साथ पाए । र, अब राप्रपाको नेतृत्व गरिरहने नैतिक संकटमा परेका छन्, थापा ।

र, दशौं आयाम मान्न सकिन्छ, पहिचानको राजनीति हल्ला नगरी पार्टीहरुमा बलियोसँग स्थापित भएको देखिनु । हालसम्म पहिचानविरोधी पार्टीका रुपमा आलोचित एमालेमा त त्यो अन्य दलभन्दा बलियोसँग मुखरित हुन पुगेको छ ।

सबैजसो निर्वाचन क्षेत्रमा सम्बन्धित स्थानमा रहेका आदिवासी, जनजातिहरुलाई मिलाएरै उम्मेदवारी दिलाएका थिए, कांग्रेस, एमाले र माओवादीले ।

कांग्रेस नेता डा. रामशरण महत मात्र होइन, राप्रपा-(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणाका प्रतिद्वन्द्वी थिए, तामाङ समुदायका नेता । तीनैजना पराजित भए । रसुवामा जितेका कांग्रेस नेता मोहन आचार्यले जिल्लाको तामाङ समुदायलाई नै आकर्षित गर्न सकेका कारण पार्टीको साख जोगाउन सफलता पाए ।

रसुवामै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रदेशसभातर्फ प्रेम तामाङलाई जितायो । तेह्रथुममा कांग्रेसकी सीता गुरुङलाई हराएर एमालेका भवानी खापुङले जिते । तेह्रथुममा लिम्बु जातिको बाहुल्यता छ ।

ताप्लेजुङमा लिम्बु समुदायका बलबहादुर साम्सोहाङ र टंक आङवुहाङलाई सारथि बनाउँदै एमाले सचिव योगेश भट्टराईले जिते । पाँचथरमा वाम गठबन्धनका सबै उम्मेदवार लिम्बु समुदायका थिए, सबैले जिते । इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालका प्रदेशसभातर्फका दुवै विजेता जनजाति समुदायकै थिए ।

धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ र ओखढुंगामा पनि जनजाति समुदायको प्रतिनिधित्व गर्न छुटाएनन्, दलहरुले । काठमाडौंमै कांग्रेसका प्रकाशमान सिंह र भीमसेनदास प्रधानलाई आफ्नो समुदायबाट लगभग एकछापे मत खसेको देखियो ।

प्रदेश ७ का कैलाली र कञ्चनपुरमा पहाडी ‘सेन्टिमेन्ट’ मिलाउँदै गर्दा राना र डगौरा थारु समुदायलाई बाहिर राख्न खोजेको देखिएन, यसपालि ।

यस्ता अन्य धेरै आयाम यसपटकको आम निर्वाचनमा नदेखिएका होइन । तथापि, नेपाली जनताले राजनीतिक दलहरुलाई यसपटक दुई स्पष्ट म्यान्डेट दिएको देखियो । पहिलो हो, स्थिर सरकार तथा त्यसमार्फत् विकास र समृद्धि । दोस्रो हो, सन्तुलित छिमेक नीति । जनताले दिएका यी दुई म्यान्डेट अनुसरण गर्न सके वाम गठबन्धनको पाँच वर्षे कार्यकाल सफलीभूत हुन सक्छ ।

२०७४ मंसिर २६ गते १२:३१ Online Khabar मा प्रकाशित

Comment with Facebook

Share This News !

Ads




shares