बंगलादेशकी पूर्वप्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर

ढाका,२६ गते (एजेन्सी)

७२ वर्षीया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको अदालतको ठहर गर्दै बंगलादेशको अदालतले विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियाले भ्रष्टाचार गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । राजधानी ढाकास्थित विशेष अदालतले बिहीबार खालिदा जियाविरुद्ध सो फैसला सुनाएको हो ।

७२ वर्षीया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको अभियोग अदालतले लगाएको छ । फैसलालगत्तै उनलाई पक्राउ गरिएको छ । उनले दुई करोड १० लाख बंगलादेशी टाका दुरुपयोग गरेको जनाइएको छ ।

जियाले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । फैसला सुनाउनुअघि अदालत परिसरमा भेला भएका खालिदा जियाका दसौँ हजार समर्थकलाई प्रहरीले टियर ग्यास फालेर तितरबितर गरेको थियो ।‘जियामाथिको अभियोग पुष्टि भएकाले र उनको सामाजिक तथा भौतिक अवस्थालाई हेर्दा उनलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ,’ फैसलामा भनिएको छ ।

‘म फर्किनेछु, चिन्ता नगर्नुहोस् र कठोर हुनुहोस्,’ आफूमाथिको सुनुवाइमा अदालत जाने क्रममा उनले आफ्ना समर्थकलाई भनेकी थिइन् । अदालतले जियाका पुत्र तरिक रहमानलाई १० वर्ष जेल सजाय सुनाएको छ । हाल उनी लन्डनमा छन् । त्यस्तै, अदालतले खालिदा जियाका चार सहयोगीलाई पनि १०–१० वर्ष जेल सजाय सुनाएको छ ।

अदालतको फैसलासँगै खालिदा जिया यसै वर्ष हुने संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएकी छिन् । आफूमाथि राजनीतिक प्रतिशोध लिइएको उनले बताएकी छिन् । जियालाई अदालतमा उपस्थित गराउनुअघि सुरक्षा फौज र विपक्षी प्रदर्शनकारीबीच केही बेर झडप भएको थियो । झडपमा केही प्रहरी अधिकारी घाइते भएका थिए ।

जियाविरुद्धको फैसलापछि राजधानी ढाका र अन्य सहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । फैसलाको विरोधमा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले राजधानीभर प्रदर्शन गरेको छ । प्रदर्शनका कारण बिहीबार ढाकाका अधिकांश पसल र विद्यालय बन्द रहेका थिए । उनीमाथिको फैसला सुनाउनुअघि बिएनपीका सयौँ कार्यकर्तालाई प्रहरीले पक्राउ
गरेको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares