कास्कीका तीनै प्रतिनिधिसभामा वाम गठबन्धन विजयी

मंसिर २४, २०७४-  कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धन विजयी भएका छन् । ६ प्रदेश सभा मध्ये ५ वटामा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन भने एकमा मात्रै कांग्रेस उम्मेदवार विजयी भए ।

६ मध्ये एक प्रदेश सभामा मात्रै कांग्रेस

निर्वाचन क्षेत्र १ मा एमालेका उम्मेदवार खगराज अधिकारीले ३९ हजार २ सय ४२ मत ल्याएर फराकिलो मतान्तरले जिते । उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका यज्ञबहादुर थापाको भन्दा १३ हजार ४ सय १६ मत बढी ल्याए । बहालवाला कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहेका कांग्रेसका थापाले भने २५ हजार ८ सय २६ मत पाए ।

२०६४ को पहिलो संविधान सभामा पराजित थापा दोस्रो संविधान सभाको निर्वाचनमा भने जितेका थिए । २०४८ को संसदीय निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटसंग हारेका अधिकारी २०५१ को मध्यावधि निर्वाचनमा उनै रानाभाटलाई हराएका थिए । २०५६ मा पनि रानाभाटसंगै चुनावी मैदानमा उत्रिएर पराजित अधिकारी २०६४ मा पनि हार्न पुगेका थिए ।

क्षेत्र १ को प्रदेश कमा वाम गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला र ख बाट एमालेका मनबहादुर गुरुङ विजयी भए । कोईराला माओवादी केन्द्र कास्कीका सह ईन्चार्ज पनि हुन । उनले १८ हजार ७ सय २७ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी कांग्रेसका जीवन परियारले १५ हजार ८१ मत मात्रै पाए । पूर्व समानुपातिक सभासद् रहेका परियार कांग्रेस केन्द्रीय सदस्य समेत हुन । त्यसैगरी प्रदेश सभा खमा एमालेका गुरुङ १७ हजार २ सय ४९ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका कृष्ण केसीले १३ हजार १ सय २ मत पाए । विजयी गुरुङ एमाले कास्की उपाध्यक्ष हुन भने पराजित केसी कास्की कांग्रेसका जिल्ला सभापति हुन् ।

निर्वाचन क्षेत्र २ मा एमाले का रविन्द्र अधिकारीले जित हासिल गरेका छन् । यो उनको लगातार तेस्रो जीत हो । उनले २७ हजार २ सय ७ मत पाउँदा पराजित कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । दुवै जना विद्यार्थी राजनीतिबाट उदाएका हुन् । यस क्षेत्रको प्रदेश कमा एमालेका कृष्ण थापा विजयी भए भने ख मा कांग्रेसका बिन्दुकुमार थापा विजयी भएका छन् ।

कृष्ण थापा एमाले कास्कीका अध्यक्ष र पोखरा उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन् । विजयी थापाले १५ हजार ३ सय २९ मत ल्याउँदा कांग्रेसका गुरु बरालले ८ हजार ३ सय २५ मत पाए । बराल नेविसंघका पूर्व नेता हुन । विजयी थापा २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसकी शारदा पौडेलसंग कास्की क्षेत्र दुईमा पराजित भएका थिए । बराल पहिलोपटक चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी खमा कांग्रेसका बिन्दुकुमार थापा निर्वाचित थापाले बाम गठबन्धनका माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य समेत रहेका राजकाजी गुरुङलाई ८ सय २ मतले हराएका हुन् । थापाले १० हजार ७ सय २६ मत पाए भने निकटतम प्रतिद्वन्दी गुरुङले ९ हजार ९ सय २४ मत ल्याए ।

माओवादी केन्द्र कास्की ईन्चार्ज समेत रहेका गुरुङले २०६४ को संविधान सभामा भने कास्की दुईबाट जितेका थिए । २ वर्ष अघिमात्रै कांग्रेसको सदस्यता लिएका थापा छोटो अवधिमै टिकट पाएर विजयी समेत भएर भाग्यशाली बनेका छन । यसप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता नरेशशंकर पालिखेले बागी उम्मेदवारी दिएका थिए । पालिखेले भने १ हजार २ सय ९२ मत पाएका छन । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष थापा घरजग्गा र अटो व्यवसायी हुन् ।

यसैगरी क्षेत्र तीनमा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धन (एमाले) का जगत विश्वकर्मा विजयी भए । उनले पुराना कांग्रेसी नेता शुक्रराज शर्मालाई पराजित गरे । विश्वकर्माले ३२ हजार ६ सय ९० मत पाए भने शर्माले २४ हजार ३ सय ४ मतमै चित्त बुझाउनु पर्‍यो ।

विश्वकर्मा पूर्व समानुपातिक सभासद् थिए । २०४८ र २०५१ मा कास्की दुई नम्बर क्षेत्रबाट पराजित भएका शर्मा २०५६ पछि राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । उक्त क्षेत्रको प्रदेश कमा माओवादी केन्द्रका रामजी बराल र ख मा एमालेका राजिव पहारी विजयी भए । बरालले निवर्तमान सांसद कांग्रेसकी शारदा पौडेल र पहारीले कांग्रेसका सिकन्दर गुरुङलाई पराजित गरे । बराल २०७० को संविधान सभामा पराजित भएका थिए ।

बराल माओवादी केन्द्र कास्की का सह ईन्चार्ज पनि हुन भने पहारी एमाले निकट युवा संघका केन्द्रीय अध्यक्ष हुन् । बरालले १५ हजार ८ सय २३ मत ल्याए भने पौडेलले १३ हजार ५७ मतमात्रै ल्याईन । त्यसैगरी पहारीले १६ हजार १ सय ६७ मत ल्याउँदा गुरुङले १० हजार ८ सय ७६ मत पाए ।

Comment with Facebook

Share This News !

shares