दाङका आठ क्षेत्रमा बाम गठबन्धन र एकमा काँग्रेस विजयी

मंसिर २४, २०७४- दाङमा नौ वटा निर्वाचन क्षेत्र मध्ये आठ स्थानमा विजयी भएको बाम गठबन्धनले आज घोराहीमा विजय र्‍याली निकालेको छ । र्‍यालीमा बाजागाजा, नाचगान र अविराबरण गर्दै घोराहीका बिभिन्न भागको परिक्रमा गरिएको थियो ।
आज बिहान सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको नतिजा अनुसार तीन प्रतिनिधिसभा र छ प्रदेश सभामध्ये काँग्रेसले एक प्रदेशसभा जितेको छ भने अरु सबैमा बाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमालेका मेटमणी चौधरी, २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र ३ मा एमालेका हिराचन्द्र केसी विजयी हुनुभएको छ । प्रदेश सभातर्फ क्षेत्र नं. १ को क मा माओवादी केन्द्रका इन्द्रजीत थारु, ख मा एमालको रेवतीरमण शर्मा, क्षेत्र नं. २ को क मा एमालको शंकर पोख्रेल, ख मा एमालेका अमर बहादुर डाँगी र ३ को ख मा एमाले का उत्तरकुमार ओली विजयी हुनुभएको छ । क्षेत्र नं. ३ को क मा भने काँग्रेसका डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ ।

विजय र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नवनिर्वाचित क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले अब मुलुकको आर्थिक समृद्धिका लागि बाम गठबन्धनले काम गर्ने बताउनुभयो । उहाँले दाङलाई प्रादेशिक राजधानी बनाई यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो । जनताको प्रतिनिधि भएकाले अब सबैका साझा मुद्धामा काम गर्न तत्पर रहने उहाँले बताउनुभयो ।

क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित शंकर पोख्रेलले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाई आफूले प्रदेशको नेतृत्व गर्ने बताउनुभयो । दाङ लगाएत प्रदेशभरीको विकासमा आफू केन्द्रित हुने उहाँले बताउनुभयो । अधिकारमुखी राजनीतिको अन्त्य भएको र अब विकासमुखी राजनीतिको शुरुवात भएको उहाँले बताउनुभयो । क्षेत्र नं. २ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमर बहादुर डाँगीले संविधान कार्यान्वयन गर्दै जनताका आधारभूत समस्या समाधान गर्नेखालका नीति नियम बनाउन अग्रसर हुने बताउनुभयो । बाम गठबन्धनको विजयले मुलुकमा स्थायी सरकार निर्माण गरी राजनीतिक स्थिरता कायम गर्ने उहाँले बताउनुभयो ।

Comment with Facebook

Share This News !

Ads




shares