सिरहामा वाम गठबन्धनको विजयी सुरुवात

मंसिर २३, २०७४ – सिरहामा वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रदेश सभामा जित हासिल गरी खाता खोलेको छ । निर्वाचन क्षेत्र नं. ३ (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार यादव ९ सय ३३ मत अन्तरले विजय भएपछि वाम गठबन्धनको विजयी सुरुवात भएको हो ।
शनिवार सम्पन्न मतगणना परिणाममा विजयी यादवले ११ हजार ८ सय ६६ मत हासिल गरे । निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मनोज कुमार सिंहले १० हजार ९ सय ३३ मत प्राप्त गरे । माओवादी केन्द्रबाट यादव यसअघि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी ६ महिना सामान्य प्रशासन मन्त्री बने । मतगणना भएको स्थल चन्द्र माविबाट २०२८ सालमा एसएलसी उर्तीण यादवले त्यही भवनबाट जितको प्रमाण पत्र लिए । एसएलसी उर्तीणपछि २०२८ सालमा निर्मल लामा, मोहनबिक्रम सिंह र जयगोविन्द साहबाट चौमको सदस्यता लिई राजनीतिमा होमिएका यादव २०३४ मा जिल्ला सेक्रेटरी, २०३९ मा वैकल्पिक केन्द्रीय सदस्य, २०४७ मा मशालसंग पार्टी एकिकरण पछि केन्द्रीय सदस्य बने । २०४२ मा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवार हुँदै २०४८ र २०७० को दोस्रो संविधान सभासम्म ३ पटक चुनावमा हार व्यहोराका यादवको यो जित पहिलो हो । २०३१ सालमा जनकपुरको रारा क्याम्पसबाट आइए उर्तीण यादवले जितसँगै जनपक्षीय योजना बनाएर जनताको सेवा गर्ने प्रतिक्रिया दिए ।

Comment with Facebook

Share This News !

Ads




shares