प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच आज भेट हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल -चीन सम्बन्ध बहुआयामिक रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहन्छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न लाग्नु भएको हो । ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच नेपाली समयानुसार अपरान्ह पौने तीन बजे करिब ४५ मिनेट भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आपसी हितमा केन्द्रित हुने सो भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनु हुनेछ ।

समकक्षी ली खछ्याङ र ओलीबीच भने भोली मात्र भेट हुनेछ । लीसँग भोली अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो भेटपछि मात्र दुई देशबीच सहमति र सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । बिभिन्न राजनीतिक दलका नेताहरुसंग कुराकानीपछि प्रधानमन्त्री ओलीले भोली नै चिनियाँ नेशनल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । बेईजिङको महत्वपुर्ण भेटघाटपछि ओली नेतृत्वको टोली शुक्रबार तिब्बतको ल्हासा आउनेछ । ३ दिनको तिब्बत बसाईका क्रममा ओलीले बिभिन्न पक्षसंग छलफल गर्नुहुनेछ । त्यस्तै तिब्बतमा रहेका परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

६ दिने चीन भ्रमणमा रहेका ओलीले बुधबार नेपाल–चीन व्यापारिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चीन सम्बन्ध पञ्चशिलमा आधारित रहेको बताए । उनले भने ‘हामी भुगोल र संस्कृतिले जोडिएका छौं, त्यसैले नेपाली भूमीलाई चीनको विरुद्धमा प्रयोग हुन दिन्नौँ ।’ एकआपसमा सहकार्यको सम्बन्ध कायम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले हाम्रो सम्बन्ध व्यापार र लगानी पर्यटनमा भएको उल्लेख गरे ।

‘हामी राम्रो मित्र मात्र होइनौ।, विश्वसनीय साझेदार पनि हौं, नेपाल विकासको बाटोमा अघि बढ्दैछ त्यसलाई सफल पार्न चाहान्छौं, प्रविधिमा अगाडि रहेको चीनले हाम्रो विकासमा सहयोग गर्न सक्छ’ ओलीले भने ।

चीनले विश्वमा लिने प्रभावकारी भूमिकाको प्रसंशाा गर्दै उनले चीनको विकास देखेर आफूहरु खुसी भएको बताए । अर्को एक प्रसंगमा ओलीले नेपालले प्रगतिशिल संविधान जारी गरेको उल्लेख गरे । उनले भने ‘अव हामी राजनीतिक स्थिरतातर्फ अगाडि बढिरहेका छौं, राजनीतिक स्थितरताले नीतिमा स्थिरता ल्याउँछ, मेरो सरकारको स्पष्ट नीति छ ।’

२०३० सम्ममा नेपाल मध्यम आय भएको देशमा गनिने बताए । ठूलो संरचनाको आवश्यकता भएको भन्दै ओलीले नेपालमा लगानी गर्दा निकै फाइदा हुने बताए । ‘नेपाल लगानीको प्रचुर आवश्यकता भएको देश हो, हाम्रो उत्पादन क्षमता सिमित छ’ उनले भने ।

चीनलाई ५ सय १२ वटा उत्पादनमा ड्युटी फ्रि कोटाको लागि माग गरेको ओलीले बताए । उनले भने ‘म तपाईंहरुको विचार सुन्न आएको हुँ, तपाईंहरुको चिन्ता बुझेर लगानीको लागि सहज वातावरण बनाउँछु । नेपालीलाई सिमेन्ट, आइरन र स्टीलको आवश्यकता छ , हामीले ‘ट्रान्समिसन लाइन र क्रस बोर्डर कनेक्ट्रीभिटी’मा जोड दिंदै आएका छौं ।’ ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ ।

 

 

 

Comment with Facebook

Share This News !

Ads




shares