पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति,संसदीय सुनुवाई अझै अनिर्णित

काठमाडौं, साउन १३ गते ।

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको सुनुवाई सकिएको ३ दिन पुगिसक्दा पनि संसदीय सुनुवाई समिति अनिर्णित बनेको छ । सुनुवाई सकिएकै दिनमा विगतमा अनुमोदन हुने वा नहुने निर्णय हुने गरेपनि बिहीबार जोशीको सुनुवाई गरेको समितिले निर्णय गर्न सांसदहरुको कार्यव्यस्तता भन्दै आनाकानी गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश जोशीसँग बिहीबार संसदको सुनुवाई समितिले झण्डै ४ घण्टा सुनुवाई गरेको थियो । पर्याप्त छलफलको आवश्यक्ता परेको भन्दै भोलिपल्ट अर्थात् शुक्रबार अपरान्ह ३ बजेलाई बैठक बोलाइएको थियो । शुक्रबार समेत सदन चलेकाले समय अभाव भन्दै आइतबारसम्म स्थगित बैठक पुनः सोमबारका लागि सरेको छ ।

आइतबार बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सुरु भएको सुनुवाई समिति बैठक सांसदहरुको कार्यव्यस्तता भन्दै सोमबार दिउँसो २ बजेलाई सारिएको छ । जेष्ठ सदस्यको रुपमा बैठकको अध्यक्षता गरेका लक्ष्मणलाल कर्णले जोशीमाथि परेका उजुरी तथा शैक्षिक प्रमाणपत्रबारे समेत छलफल गरिरहेको बताए । उनले भने, ‘सांसदहरुको कार्यव्यस्तता पनि छ । अर्कोतर्फ उहाँको सुनुवाई त सकियो तर अनुमोदन गर्ने कि नगर्ने निर्णयमा पुग्नुअघि छलफलमै छौँ ।’

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको बुझिएको छ ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares