पार्टी एकीकरण र पहिलो ६ बुँदे घोषणा पत्र

काठमाडौँ ,जेष्ठ ४ गते।
एकीकृत पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले निर्वाचन आयोगमा पुगी विधिवत रुपमा पार्टी दर्ता गराएका थिए । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा घोषणासभामा मन्तव्य राख्दै एकीकृत पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले सम्बोधन गर्नु भएको थियो र घोषणा पत्र लाई वचन सहित मन्तव्य राख्नु भएको थियो ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा घोषणासभामा मन्तव्य राख्दै पूर्व उर्जामन्त्री जनार्दन शर्माले समृद्धि, सबै किसिमका विभेदको अन्त्य र संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ कम्युनिष्ट पार्टीले लिने बताए । कार्यक्रम एकीकृत पार्टीका महासचिव विष्णु पौडेलले सञ्चालन गरेका छन् ।

अब तीनचौथाइ : ओली
पार्टी घोषणा सभामा अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको प्रतिस्पर्धी अब कांग्रेस नरहेको बताए। कानुनी एवं वैधानिक रूपमा कांग्रेस प्रमुख प्रतिपक्षी रहे पनि अब कांग्रेस प्रतिस्पर्धी नरहेको उनले बताए। एउटा चुनाव हार्दैमा कांग्रेसलाई नआत्तिन ओलीले सुझाए।
‘कम्युनिस्ट पार्टीका लागि दुईतिहाइ त सामान्य भइसक्यो, अब आउने निर्वाचनमा कम्तीमा तीनचौथाइ’, ओलीले भने। ओलीले नयाँ कम्युनिस्ट पार्टी गठन भएको नभई ०६ सालमा पुष्पलालले गठन गरेको कम्युनिस्ट पार्टी पुनर्गठन भएको पनि दाबी गरे।
‘अब कम्युनिस्टहरू फुट्न जान्दैनन्, जुटन मात्र जान्दछन्’, ओलीले भने। केन्द्रीय, प्रदेश र स्थानीय गरी तीन वटै सरकारमा वामपन्थीको बहुमत बढी पकड रहेको उनको भनाइ छ। ‘नयाँ इतिहास रचना भएको छ’, ओलीले भने,‘कम्युनिस्ट आन्दोलन नयाँ युग र उचाइमा पुगेको छ। अब सही नीति साथ राष्ट्र निर्माणको यात्रामा अघि बढने अठोट छ।’
राजनीतिक मूलधारबाहिर रहेका नेत्रविक्रम चन्दलाई पनि मूलधारमा आउन ओलीले आग्रह गरे। ‘नमिल्दा टेढा कुरा गरेर कुनामा बस्नु कम्युनिस्ट सिद्धान्त होइन, बानी बिगे्रको बच्चा जस्तो सुतली बम पड्काएर हिँडेको छ। त्यो कहाँको, कुन माक्र्सवाद पढेको हो ? ’ उनले प्रश्न गरे।

गुणात्मक छलाङ : दाहाल
दुई पार्टीबीचको एकताले गुणात्मक छलाङ मारेको अध्यक्ष दाहालले बताए। एमाले–माओवादीले यसअघि गरेका पार्टी एकता मात्रात्मक मात्र रहेको र अहिलेको एकता गुणात्मक भएको उनको भनाइ छ। ‘हामीले दुवैका गरी ८०÷८५ ओटा भएछ, एकता गरेको। त्यसको गुणात्मक छलाङ हो, यो अहिलेको एकता। ती अगाडिका एकता मात्र थिए। अब हामी गुणमा हाम्फाल्यौं,’ दाहालले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ। पानीभित्र हाइड्रोजन छुट्ट्याउन खोजेर पाइँदैन। त्यो पानी हुन्छ। नेपाल कम्युनिस्ट पार्टीमा पनि यो एकतापछि अब न एमाले छ, न माओवादी छ। त्यो अर्काे बनिसक्यो।’
पार्टी एकताले देशमा सुशासन, स्थिरता, विकास र समृद्धिको बाटो तय गरेको दाहालले बताए। ‘पार्टी एकताको तागतले जनतालाई चाहिएको सुशासन, विकास दिनेछ। राष्ट्रलाई स्वाधीनता, एकता र आत्मसम्मान दिनेछ। नेपाली भएर बाँच्नु र काम गर्नुको गौरव यसले प्रदान गर्नेछ। त्यसकारण यो बहुआयामिक छ,’ उनले भने।
कम्युनिस्टहरूसँग त्याग, बलिदान र समर्पणको इतिहास भए पनि त्यसलाई सत्तामा पुग्दा सदुपयोग गर्ने र जनताको हितमा प्रयोग गर्न नसक्दा टिक्न नसकेको बताउँदै दाहालले अव नवगठित कम्युनिस्ट पार्टीले भने त्यस्तो हुन नदिने दाबी गरे।
‘इतिहासमा धेरै कम्युनिस्टले त्याग, बलिदान गरे, संसारलाई थर्काउने गरी क्रान्ति पनि गरे, तर सरकारमा पुगेपछि यति भेस्ट भएकी जनताले नै पिटिपिटी मार्नुपर्ने अवस्थासम्म पनि आयो,’ दाहालले भने, ‘तर अब यो कम्युनिस्ट पार्टीले सत्तामा रहेर पनि जनतासँगको सम्बन्ध टुटाउँदैन। जनता र पार्टी नेताहरूबीचको सम्बन्ध नङमासुको जस्तै बनाएर जान्छ।’
ओलीको ठट्यौली र दाहालको भावुकता
पार्टी एकता घोषणासभामा अध्यक्ष पुष्पकमल दाहाल भावुक बनेका थिए भने ओलीले ठट्यौली शैलीमा कार्यकर्तालाई हँसाएका थिए। ‘एकतालाई कसरी व्याख्या गर्ने भन्ने शब्दको दु:ख भएको छ,’ भाषणमा माहिर मानिने दाहालले भने। आफ्नो पुस्ता ‘डाँडामाथिको जून’जस्तै भएको भन्दै दाहालले नयाँ पुस्ताको भविष्यका लागि एकता गरिएको उल्लेख गरे। सम्बोधनका क्रममा पटकपटक गला अवरुद्ध भएका दाहालले पार्टी एकतालाई ‘क्रमभंगताको गुणात्मक फड्को’ भएको दाबी गरे। पार्टी एकता आजै (बिहीबार) गर्नुपर्छ भनेर आफूले ओलीसँग प्रस्ताव गरेको पनि दाहालले बताए। ‘तपार्इंहरूले थाहा पाएको मितिमा पार्टी एकता हुँदैन, थाहा नपाएको मितिमा हुन्छ भनेर मैले दुई दिनअघि मात्र भनेको थिएँ,’ दाहालले भने, ‘आज जेठ ३, मदन भण्डारी र जीवराज आ िश्रतकै स्मृति दिवसका दिन पार्टी एकता गर्न पाएकोमा गर्व व्यक्त गर्न चाहन्छु।’
दाहालपछि बोल्ने पालो थियो, ओलीको। ‘प्रचण्डजीको त गला अवरुद्ध भयो, पुष्पलालजी जीवित हुनुभएको भए बूढो मान्छे नाच्नुहुन्थ्यो,’ ओलीको भनाइ नसकिँदै दर्शकदीर्घामा ताली र हाँसोको फोहरा छुट्यो। एकपछि अर्को ठट्यौली शैली पस्कँदै ओलीले भने, ‘पार्टी एकतामा दुई दिनको समय लाग्छ भनेको थिएँ, कतिलाई ठट्टै लाग्यो,’ फेरि हाँसो र तालीले गुन्जियो राष्ट्रियसभा गृह। केही दिनअघि मात्र आफू र दाहाल एकअर्कोतिर फर्केको भनी प्रकाशित समाचारबारे पनि ओलीले व्यंग्य गरे, ‘मैले त्यो देखेर भोलि बिहान को कता फर्केको छ, फोटो खिच्न आउनू भनेको थिएँ, हिजो बिहान त देखियो नि।’ नयाँ पार्टीमा दुई अध्यक्ष रहेकोबारे पनि ओलीले ठट्यौली शैलीमा व्याख्या गरे। ‘टेम्पो चलाए जस्तो होइन,’ ओलीले भने, ‘जेटमा दुई जना पाइलट हुन्छन्, हाइटमा उडाउनुपर्छ।’
आफू ड्राइभरको सिटमा भए पनि चक्का (पार्टी) गुड्न नसके ड्राइभरले मात्र केही गर्न नसक्ने ओलीले बताए। ‘प्रचण्डजीले नमानेको भए एकता कहाँ हुन्थ्यो, एक्लै गरेर हुँदैनथ्यो, मैले नचाहेको भए पनि कहाँ हुन्थ्यो र ? ’ उनले भने। एमाले माओवादी र माओवादी एमालेमा विलय भएको ओलीले घोषणा गरे। ‘हिन्द महासागरमा कोसी र कर्णालीको पानी खोजेर कहाँ भेटिन्छ ? ’, उनले भने, ‘मिलिसक्यो।’ आफूले संयुक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिस्काएको प्रसंग पनि ओलीले कार्यकर्तालाई सुनाए। ‘तपाईंको माओवादी केन्द्रको अध्यक्ष पद सिद्धियो भनेर मैले प्रचण्डजीलाई भनें। उहाँले पनि तपार्इंको एमालेको अध्यक्ष सिद्धियो भन्नुभयो’, ओलीले भने, ‘हो, मैले त्यही सुन्न चाहेको थिएँ। अब एमाले पनि छैन, माओवादी केन्द्र पनि छैन।’
विगतमा कम्युनिस्टहरू फुटे भनेर ठूलाठूला अक्षरमा समाचार आउने गरेको प्रसंग उल्लेख गर्दै ओलीले अब त्यस्तो नहुने बताए। ‘कम्युनिस्टहरूका लागि अब विन्टर सिजन छैन,’ ओलीले भने, ‘विन्टरमा पात झरेको स्याउको रूख जस्तो हुनुहुँदैन।’
कार्यक्रममा दुई दलबीचको ६ बुँदे घोषणापत्र वाचन गर्न मञ्चमा बोलाइएका वरिष्ठ नेता माधव नेपालले पृथ्वीनारायण शाहलाई सम्झेका थिए। ‘पृथ्वीनारायण शाहले साना दु:खले आज्र्याको मुलुक होइन भने जस्तै यो एकता पनि साना मेहनतले भएको होइन,’ नेपालले भने। विदेश भ्रमणमा रहेका कारण सचिवालय सदस्य झलनाथ खनाल भने कार्यक्रममा अनुपस्थित थिए। एकता घोषणालगत्तै राष्ट्रियसभा गृह र माइतीघर मण्डलालगायत विभिन्न क्षेत्रमा खुसियालीमा दीपावली गरिएको छ भने प्रधानमन्त्री निवासमा बत्तीको झिलिमिलीसहित नेताहरूलाई रात्रिभोज दिइएको थियो। एकताको टुंगो लागेलगत्तै बिहान प्रधानमन्त्री निवासमा दुई अध्यक्षले जापानी प्रजातिको जिन्को वाइलोवा नामक बिरुवा रोपेका थिए।

यस्तो छ संगठन
पार्टीको नाम : नेपाल कम्युनिस्ट पार्टी
सचिवालय : ९
स्थायी समिति : ४५
केन्द्रीय समिति : ४४१
अध्यक्ष : केपी ओली÷पुष्पकमल दाहाल
वरिष्ठ नेता : झलनाथ खनाल, माधवकुमार नेपाल
सचिवालय सदस्यहरू : वामदेव गौतम, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव : विष्णु पौडेल
एमाले–माओवादीले आआफ्ना पूर्ववत् पार्टी संरचना विघटन गर्दै गठन गरेको नेपाल कम्युनिस्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ । जनमत, संसद्मा रहेको उपस्थितिलगायत आधारमा नेकपा दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको हो । पार्टी केन्द्रमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति हुनेछ । केपी ओली र पुष्पकमल दाहालले पार्टीको संयुक्त नेतृत्व गर्नेछन् ।
दुई अध्यक्षात्मक प्रणालीका रूपमा ओली–दाहालले संयुक्त रूपमा पार्टीको नेतृत्व गर्ने गरी नेकपाको पार्टी संगठनात्मक संरचना निर्माण प्रक्रिया सुरु भइसकेको छ । ओली–दाहालले पार्टीको आलोपालो बैठकको अध्यक्षता गर्ने, निर्णयमा दुवैले हस्ताक्षर गर्ने गरी अधिकारक्षेत्र तय गरिएको छ ।
आगामी एकताको महाधिवशेनसम्म अन्तरिम पार्टी विधानका आधारमा पार्टी सञ्चालन गर्ने गरी नेतृत्वसम्बन्धी त्यस्तो नीति तय गरिएको नेकपाका नेताको भनाइ छ ।
पार्टी महासचिवमा विष्णु पौडेल चयन भएका छन् । दैनिक कार्यसञ्चालन गर्नका लागि ९ सदस्यीय सचिवालयसमेत गठन भएको छ । सचिवालयमा अध्यक्षद्वयका अतिरिक्त झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र पौडेल रहनेछन् । खनाल र नेपाललाई पार्टीको वरिष्ठ नेता बनाइएको छ भने श्रेष्ठलाई प्रवक्ता तोकिएको छ ।
पार्टी एकताका लागि गृहकार्य गर्न बनाइएको पार्टी एकता संयोजन समितिलाई नै सचिवालयमा रूपान्तरण गरिएको अध्यक्ष पुष्पकमल दाहालले बताए ।
एकता संयोजन समितिमा यसअघि महासचिव पौडेलबाहेकका अन्य ८ जना नेता थिए । अहिले पौडेललाई थप गरी ९ सदस्यीय सचिवालय बनाइएको छ । त्यसमा केही नेतालाई आमन्त्रित सदस्यका रूपमा थप गर्ने तयारी भएको छ ।

घोषणापत्रलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बाचन गरेर सुनाएका थिए । यो घोषणामा पटक पटकका संघर्षबाट प्राप्त अभूतपूर्व उपलब्धिलाई समृद्ध र सु-संस्कृत नेपाल निर्माण गरेर दिगो र युगिन महत्वको बनाउने संकल्प गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा
१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।
२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरीम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गर्यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले)ं र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।
३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छाँै ।
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।
४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।
५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।
६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पुर्याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पुर्याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं ।
के.पी. शर्मा ओली पुष्प कमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, केन्द्रीय कमिटी अध्यक्ष, केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी
मितिः २०७५।२।३।५

Comment with Facebook

Share This News !

Ads




shares