परराष्ट्रमन्त्री ज्ञवालीले परामर्श गरे पूर्वपरराष्ट्रमन्त्रीसँग

काठमाडौँ , चैत्र १८

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वपरराष्ट्रमन्त्रीहरु र प्रवुद्ध ब्यक्ति समूह (ईपीजी)का टोलीसँग संयुक्त रुपमा नेपाल भारत सम्बन्ध र अन्य समग्र कूटनीतिक विषयमा परामर्श गरेका छन् । उनले ललितपुरको एक होटलमा बिहान ‘ब्रेकफास्ट’ बैठक नै गरेर नेपालको कूटनीतिमा परेका समस्या र भारतसँगको सम्बन्ध विस्तारलाई लिएर छलफल गरेको परराष्ट्र अधिकारीले बताए ।

परराष्ट्रमन्त्रीको सचिवालयले यस्तो छलफलाई आन्तरिक छलफल भनेको छ। छलफल विशेष गरि आगामी शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको राजकीय भ्रमणमा नै केन्द्रित रहेको एक सहभागीले बताए। ‘छलफलमा समग्र कूटनीति र भारतसँगको सम्वन्ध विस्तारमा नै बढी छलफल केन्द्रित रह्यो,’ एक सहभागीले भने, ‘सबै जसोले छिमेकसँग सम्बन्ध सुमधुर राखेर नै अघि बढ्न पर्छ। त्यसमाथि पनि भारतसँगको सम्बन्धमा हामी संवेदनशील भएर ‘विन–विन’ सहकार्य गर्नुपर्छ।’

परराष्ट्रमन्त्रीले वर्तमान अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई जोडेका थिए। त्यसपछि उपस्थित सबैले भारतसँग सम्बन्ध सुधार गरेर नै मुलुकको विकास प्रक्रिया अघि बढाउनु पर्ने बताए। ‘भारतसँग सम्बन्ध सुधार गरेर नै हामी अघि बढ्नुपर्छ। छिमेकसँग सम्बन्ध राम्रो भएन भने विकास प्रक्रियामा असर गर्छ,’ छलफलमा सहभागी पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले कान्तिपुरसँग भनिन्, ‘हामीले हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर छलफल गर्नुपर्छ। कोशी ब्यारेज जिर्ण भइसकेको छ। यसको विकल्प दुवै मुलुकले खोज्नुपर्छ। यसबाट नेपाल–भारत दुवैलाई समस्या निम्तिन सक्छ।’

अन्य प्राकृतिक स्रोतको विषयमा समेत छलफल गरेर अघि बढ्नुपर्ने कोइरालाको सुझाव छ। समग्र विषयमा छलफल भएपनि अधिकांश छलफल भारतसँगको सम्वन्धमा केन्द्रित रहेको थियो। परराष्ट्रमन्त्रीले ईपीजीका सदस्य समेत उक्त छलफलमा राखेका हुनाले पनि यो भेटघाट भारत भ्रमणमा नै बढि केन्द्रित थियो। नेपाल र भारतको सम्बन्धमा कर्मचारी स्तरबाट सम्बन्ध बिग्रने गरेकाले राजनीतिक तहमा सिधा पहुँचको खाँचो उनीहरुले औंल्याएका थिए। परराष्ट्रमन्त्रीको सचिवालयले भने यो बैठकलाई आन्तरिक भन्दै बाहिर ल्याउन चाहेन।

छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरु भेखबहादुर थापा (ईपीजी संयोजक), रामशरण महत, सुजाता कोइराला, प्रकाशचन्द्र लोहनी, महेन्द्र पाण्डे, प्रकाशशरण महतको उपस्थिति रहेको भए पनि पूर्व परराष्ट्रमन्त्री रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वपरराष्ट्रमन्त्रीहरु कमल थापा, नारायणकाजी श्रेष्ठ, रमेशनाथ पाण्डेको भने सहभागिता रहेको थिएन।

 

Comment with Facebook

Share This News !

Ads




shares