कानुनमन्त्रीलाई राजीनामा दिन नेकपाको निर्देशन

काठमाडौं, साउन ८ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।

कानुनमन्त्री आइतबार बंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरूले शरीर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन् भन्ने आशयको  अभिव्यक्ति दिएर विवादित बनेका मन्त्री तामाङलाई राजीनामा गर्न सोमबार नेकपाले निर्देशन गरेको हो ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।

मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । ‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो । तपाईले राजीनामा दिनुस् भनेका छौं’ नेकपाएका एक शीर्ष नेताले अनलाइनखबरलाई बताए ।

नेकपा उच्च स्रोतले भन्यो ‘औपचारिक रुपमा भन्न मिल्दैन तर, उनले राजीनामा दिन्छन् भन्ने विश्वास छ ।’ तर, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने आफूलाई यसबारे ठ्याक्कै थाहा नभएको बताए । आज दिउँसो २ बजे उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् त्यहाँबाटै राजीनामा दिने अनुमान गरिएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares