कांग्रेसमा देउवा थप शक्तिशाली, शंकाको घेरामा शशांक

काठमाडौँ २१ गते।
कांग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चयन भएका छन् । यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई धक्का लागेको छ ।

दलको चुनावमा देउवालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिएका थिए । दलको नेता देउवा हुने प्रष्ट थियो तर, सिंहले कति मत पाउँछन् भन्ने विषयलाई अर्थपूर्ण मानिएको थियो ।

प्रतिनिधिसभाका ६३ सांसदमध्ये ४४ जनाले देउवालाई भोट दिए भने सिंहले १९ मत मात्र पाएका छन् । दलको चुनावमा देउवा रामचन्द्र पौडेल समूहका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल देखिएको नेताहरुले बताएका छन् ।

यसले देउवालाई थप बलियो बनाएको छ । देउवा निकट सांसद मीन विश्वकर्मा भन्छन्, ‘नेतृत्व परिर्वतनको कुरा बाहिर जति भए पनि उहाँहरुको संगठनमा पकड थिएन र पार्टीमा अहिले पनि देउवाको नेतृत्व आवश्यक छ भन्ने सन्देश दिएको छ ।’

मिनेन्द्र रिजालले गुट फेरे !

देउवाविरुद्ध सिंहलाई उम्मेदवार बनाउँदै गर्दा पौडेल समूहले १९ देखि २७ भोटको हिसाब निकालेका थिए । पौडेल समूहका १९, कृष्ण सिटौला समूहका तीन र खुमबहादुर खड्का समूहका ५ सांसद सांसद छन् । देउवा समूहमा पनि केही असन्तुष्ट थिए ।

तर, सिंहले १९ भोट मात्र पाए । सिटौला समूहका तीन सांसदमध्ये गगन थापा खुलेर प्रकाशमान सिंहको पक्षमा लागेका थिए । भीमसेनदास प्रधानले प्रकाशमान सिंहलाई भोट दिएनन् भने उमाकान्त चौधरीलाई अन्तिमसम्म सिंहको पक्षमा तान्ने प्रयास भएको थियो पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ । पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ ।

पछिल्लो समय मिनेन्द्र रिजाल देउवासँग नजिक भएका छन् । उनलाई प्रमुख सचेतक बनाउने देउवाको तयारी छ । एक समय देउवा निकट रहेका उनी सुशील कोइराला हुँदा यता आए । १३ औं महाधिवेशनमा पनि उनी पौडेल समूहमै थिए । यस्तै पौडेल समूहका नारायण खड्का, प्रमोद यादवलगायतले पनि देउवालाई भोट दिएको अनुमान छ ।

शंकाको घेरामा शशांक

प्रकाशमान सिंह निकटवर्तीहरुले महामन्त्री शशांक कोइरालासमेत शंकाको घेरामा रहेको बताउँछन् । पौडेल समूहबाट महामन्त्री जिते पनि सभापति देउवासँग मिलेको आरोप उनीमाथि लाग्दै आएको छ । चुनावपछि कांग्रेसमा नेतृत्व परिर्वतनको माग गरेपछि कोइरालाले बोलेका छैनन् । दलको नेताको चुनावमा पनि उनले प्रकाशमानलाई खुलेर समर्थन गरेको नदेखिएको एक सांसदले बताए । उनले अघि भने, ‘महामन्त्रीले दलको नेतामा देउवासँग लड्न आँट गरेनन् । अब प्रकाशमानले उनलाई किन आफ्नो नेता मान्ने ?’ महामन्त्री कोइराला निकट नेताहरुले पनि दलको नेतामा दाबी नगर्नु र आफ्नो समूहमा अविश्वास बढ्नुले पार्टी नेतृत्वमा उनको दाबेदारीलाई मजोर बनाउने विश्लेषण गरेका छन् ।

‘दासहरुको भेलाले युद्ध जित्न सकिन्न’

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गरेका छन् ।‘विभेदपूर्वक समानुपातिकको भीड जम्मा गरेर आफूलाई भोट हलाउनु ठुलो कुरा होइन । ठुलो कुरा उहाँको नेतृत्वमा पार्टी कुन स्थानमा छ भन्ने हो’ नेतृत्व परिर्वतनको अभियान चलाउने ६ भाइमध्येका एक भण्डारीले भनेका छन्, ‘महत्वपूर्ण सवाल दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘ दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’छ भाइका अर्का सदस्य गगन थापाले पनि नेतृत्व परिर्वतनको अठोटबाट पछि नहट्ने बताएका छन् । ‘हामीले सुरुमा नेतृत्व परिर्वतन गर्न अनुरोध गर्‍यो, भोटबाट पनि सकेनौं’ सांसद थापाले अनलाइनखबरसँग भने, ‘यसले हामीलाई पक्कै धक्का छ तर, नेतृत्व परिर्वतनको अठोटबाट थाक्छौं भन्ने होइन, लागिरहन्छौं ।’

गच्छदारलाई उपनेता बनाउनुको अर्थ

संसदीय दलको नेता चुनिएलगतै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाएका छन् । कांग्रेस छाडेर फोरम हुँदै फोरम लोकतान्त्रिक बनाएका गच्छदार चुनाव अघि मात्र कांग्रेसमा फर्किएका थिए । उनलाई सहादबहार मन्त्रीका रुपमा समेत लिने गरिन्छ । जनतामा लोकपि्रय छवि बनाउन नसकेका गच्छदारलाई उपनेता बनाएर देउवाले नेतृत्व परिर्वतनको मागलाई सुन्न पनि तयार नरहेको सन्देश दिएका छन् ।यद्यपि देउवा समूहका नेता मीन विश्वकर्मा भने त्यसलाई मान्न तयार छैनन् । उनले भने, ‘लोकप्रियता हेरेर निर्णय गर्न हामी अहिले कुनै आम चुनाव लड्दैछैनौं । संगठन सुदृढिकरण आवश्यक छ र त्यसका लागि उहाँ उपयुक्त र सक्षम हुनुहुन्छ ।’

कांग्रेसमा हुँदा पनि महत्वपूर्ण जिम्मेवारी निभाएको, समन्वयकारी भूमिका खेल्न सक्ने चतुर नेता भएको र पार्टी नै बिलय गरेर आएकाले उपनेता बनाएको उनको दाबी छ । देउवा समूहले हप्ता/दश दिनमै पार्टीका पदाधिकारी तथा अरु पदमा नियुक्ति हुने बताएको छ । सभापतिले सबैलाई समेट्न प्रयाग गर्ने तर, आफूलाई सहयोगी हुने नेतालाई उपसभाति, महामन्त्री, सहमहामन्त्री लगायतमा नियुक्त गरिने निकटवर्तीहरु बताउँछन् ।

नारायण खड्काले भने-म गुटमा छैन

कांग्रेस नेता डा.नारायण खड्काले आफू कांग्रेसभित्र कुनै गुटमा नरहेको र गुटको नाममा आँखा चिम्लेर भोट हाल्नुपर्छ भन्ने मान्यता पनि नराख्ने प्रतिक्रिया दिएका छन् । रामचन्द्र पौडेल पक्षका भनिएका खड्काले देउवालाई भोट दिएको भनी प्रचार भएपछि खड्काले आफूले विवेक प्रयोग गरेको बताएका छन् ।
खड्काले भने ‘मलाई फलानो गुटको भनेर प्रमाणित गर्ने अधिकार कसैलाई छैन । मलाई गुटमा लगेर मिसाउने काम भएको छ । तर अरुले कल्पना गरेर राखेको गुटमा म छैन । दलको नेता भनेको कस्तो हुनुपर्छ भन्ने विवेक प्रयोग गरेको हुँ । गुटकै कारण माथि आएकाहरुले गुट हेरेर भोट हाल्लान, तर म बाध्य छैन ।’

# नेपाली कांग्रेस # प्रकाशमान सिंह # शेरबहादुर देउवा

Comment with Facebook

Share This News !

Ads




shares