कांग्रेसको आपत्ति इयु निर्वाचन प्रतिवेदनमा

काठमाडौँ , चैत्र १२ गते।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।  सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि कांग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए। इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराए। उनले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए। तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले इयुले आफ्नो क्षेत्राधिकार बाहिर गएर उक्त प्रतिवेदन बनाएको बताए । उनले इयु निर्वाचन पर्यवेक्षण गर्न आएको भएपनि प्रतिवेदन अर्कै हिसाबले सार्वजनिक गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले भने, ‘इयुले यो प्रतिवेदन तत्काल सच्याउनुपर्छ । नेपालको संविधान र कानुनबारे टिप्पणी गर्न इयुलाई छुट छैन ।’

 

Comment with Facebook

Share This News !

Ads




shares