धनकुटाको सिमेन्ट उद्योगमा तालाबन्दी

धनकुटा, माघ २० गते।(एजेन्सी)

धनकुटाको छथर जोरपाटी गाउ‘पालिकास्थित निगाले सिमेन्ट उद्योगमा स्थानीयबासीले आज तालाबन्दी गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनरत दुई प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा स्थानीयले प्रर्दशन गरेका हुन् । गत साता उद्योगका सञ्चालक दिनेश पौडेल माथि कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले गए राति नियन्त्रणमा लिएको थियो ।

पक्राउ  पर्नेमा छथर जोरपाटी ६ का इन्द्र घिमिरे र भक्तबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिषरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए । सोही समयमा उद्यमी पौडेल माथि आक्रमण भएको थियो । पौडेलले दिएको उजुरीका आधारमा घटनामा सम्लग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुटपिटबाट पौडेलको टाउकोमा चोट लागेको जनाईएको छ ।  पक्राउ गरिएकालाई रिहाई गरिनु पर्ने तथा उद्योगबाट निस्किएको धूलोका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्ने प्रविधि नराखेसम्म आन्दोलनलाई जारी राखिने आन्दोलन समितिका संयोजक दिपक गुरुङ्गले बताउनुभयो । स्थानीयबासीले सिमेन्ट उद्योगको मुल गेटमा प्रदर्शन जारी राखेका छन् । उद्यमी पौडेलले आफ्नो सुरक्षा प्रत्याभुत नहुन्जेल वार्तामा सहभागी हुन असमर्थ रहेको बताउनु भएको छ । उद्योगबाट निस्किएको धूलोका कारण आसपासका मजुवा, चपरीचोक, सरस्वती मावि क्षेत्र लगायतमा असर परेको स्थानीयको भनाई छ । तरकारीको लागि अग्रणी स्थान सिधुवा आसपासका क्षेत्रमा सिमेन्टको बाक्लो लेदो जम्ने गर्दा बाली समेत प्रभावित बनेको स्थानीय कृषक उदयबहादुर दाहालले बताए । सर्वोच्च अदालतले यस अघि नै वातावरण नियन्त्रणका लागि उद्योगमा आवश्यक मेसिन जडान गर्न फैसला गरेपनि उद्योग व्यवस्थापकले उचित ध्यान नदिंदा समस्या चुलिंदै गएको स्थानीय शिक्षक डिवेश खड्काले जानकारी दिए । उद्योग परिषरमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares