रानीपोखरी पुनर्निर्माणमा रञ्जु दर्शनाको आपत्ति

काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ ।

रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको बताइन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् ।

उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन्। ।

रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई रानीपोखरी पुग्ने होइनन् ।’

रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिइन् ।

भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको पुनर्निमाणले अझै गति लिन सकेको छैन । बरु बेलाबेला विवाद आउने गरेको छ ।
Source: Tapaiko Khabar – Online News

Comment with Facebook

Share This News !

shares