चुनावी प्रतिस्पर्धा मा १८ वर्षपछि आमनेसामने

मंसिर १६, २०७४-जिल्लाको प्रतिनिधिसभा १ मा एमाले पोलिटब्युरो सदस्य दलबहादुर राना र कांग्रेस महासमिति सदस्य विजय घिमिरेबीच चुनावी प्रतिस्पर्धा छ । दुवैजना आआफ्नो साख जोगाउने होडबाजीमा छन् । एमाले २०५१ यताको किल्ला जोगाउने र कांग्रेस त्यसलाई भत्काउने रणनीतिमा छ ।

एमाले पोलिटब्युरो सदस्य दलबहादुर राना र कांग्रेस महासमिति सदस्य विजय घिमिरे

तीन दशकदेखि राजनीतिमा क्रियाशील पूर्वमन्त्री रानाको यस क्षेत्रमा यो पाँचौं पटकको उम्मेदवारी हो । उनी २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । स्थानीय निर्वाचनका आधारमा वाम गठबन्धनको मत कांग्रेसभन्दा धेरै भएकाले आफ्नो जित पक्का रहेको उनको भनाइ छ ।पुरानो क्षेत्र नम्बर १ का कतिपय मतदाताले भने रानालाई विगतका आश्वासन पूरा नगरेको र काठमाडौं बस्ने गरेको आरोप लगाएका छन् । मगरहरूको बाक्लो बसोबास रहेको यो भेगमा २०४८ मा कांग्रेसका कालुराम रानाले जितेबाहेक एमालेकै एकछत्र छ । २०५१ र २०६४ मा दलबहादुरले नै जितेका थिए । २०७० मा एमालेकै राधाकृष्ण कँडेल चुनिएका थिए । राना शान्ति र संविधानपछि अबको एजेन्डा आर्थिक सम्मृद्धि रहेको बताउँदै चुनावी प्रचारमा जुटेका छन् । ‘यस क्षेत्रमा विकासको सुरुवात गरेकाले त्यसको निरन्तरताका लागि जनताले मलाई नै विजयी गराउनेछन्,’ उनले भने ।
प्रतिस्पर्धी कांग्रेसका घिमिरेसँग यो उनको दोस्रो प्रतिस्पर्धा हो । २०५६ वैशाख ३१ को संसदीय चुनावमा पनि उनीहरू आमनेसामने भएका थिए । साबिक क्षेत्र नम्बर १ को चुनाव थियो त्यो । एमालेका भद्रबहादुर थापा, कांग्रेसका टंकनाथ काफ्ले र मालेबाट राना उम्मेदवार थिए । प्रचारप्रसार क्रममा बहादुरपुर पुगेका कांग्रेस उम्मेदवार काफ्लेको वैशाख १४ गते निधन भयो । यहाँको निर्वाचन जेठ ५ गतेलाई गर्यो । उपनिर्वाचनमा कांग्रेसले युवा नेता घिमिरेलाई उम्मेदवार बनाएको थियो ।
घिमिरे यसपालि जनताको आर्थिक स्तर माथि उकास्ने मुद्दा लिएर चुनावी मैदानमा छन् । लामो समयदेखि एमालेले जित्दै आए पनि जनताले चाहेजस्तो परिवर्तन अनुभूति गर्न नपाएकाले यसपालि आफूलाई मत दिने उनको बुझाइ छ । ‘विगतमा हुन नसकेका विकासका मुद्दा पूरा गरी जनताको आर्थिक सम्मृद्धिको अभियान थाल्नेछु,’ घिमिरेले भने, ‘मानव विकास सूचकांकमा अगाडि देखिए पनि जिल्लाको पूर्वी भेगमा अवस्था अझै दयनीय नै छ ।’
यी दुवै उम्मेदवारको स्थायी घर रामपुर नगरपालिकामा पर्छ । तर, राना बढीजसो काठमाडौंमै बस्दै आएका छन् । बेग्लाबेग्लै विशेषता बोकेका दुबै उम्मेदवारका कारण यस क्षेत्रमा बढी चर्चा छ । पछिल्लो संरचनाअनुसार निर्वाचन क्षेत्र ठूलो भएकाले स्थानीयले यी दुईबीचको स्पर्धालाई फरक ढंगले हेरेका छन् । ‘पहिलाभन्दा क्षेत्र धेरै ठूलो भएको छ,’ क्षेत्रबहादुर नेपालीले भने, ‘पहिला जस्तो अहिले सहज छैन । मतदाता पनि धेरै फरक छन् ।’
यस क्षेत्रबाट प्रतिनिधिसभामा विभिन्न दलका ११ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रदेशसभा ‘क’ मा देवराज ढकाल र ‘ख’ मा दानबहादुर पछाईंलाई उम्मेदवार वनाएको छ भने एमालेबाट क्रमश: युवराज खनाल र नारायण आचार्य प्रतिस्पर्धी छन् ।

Comment with Facebook

Share This News !

shares