९० प्रतिशतमा वाम गठबन्धन अगाडि

झापा, मोरङ र सुनसरीको अंकगणित, ९० प्रतिशतमा वाम गठबन्धन अगाडि

दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने प्रदेश नम्बर १ का जिल्लामा यतिबेला चुनावी प्रचारले तीव्रता पाएको छ । खासगरी यस प्रदेशमा तीन वटा जिल्लालाई बढी चासोका साथ हेरिएको छ । वाम गठबन्धनका नेताहरु भनिरहेका छन्, ‘झापा, मोरङ र सुनसरी, जहाँ वाम गठबन्धनले बहुमत ल्याउँदैछ ।’ अर्कोतिर हेभीवेट उम्मेदवारका कारण पनि यी जिल्ला चर्चामा छन् । जसले जे भनेपनि अंकणितमा हेरौँ यी जिल्लामा कसले बाजी मार्ला ?

झापा

झापामा ५ निर्वाचन क्षेत्र छन् । कुल ५ लाख ८५ हजार २ सय २८ मतदाता छन् । यसअघि भएको स्थानीय तहको निर्वाचनमा पाएको मतपरिणामलाई आधार मानेर विश्लेषणा गर्दा क्षेत्र नं. १ मा माओवादीका राम कार्की, कांग्रेसका विश्वप्रकाश शर्मा र फोरमका भक्त सेवाहाङबीच कडा प्रतिस्पर्धा हुनेछ ।
यो क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्छन् । क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् । यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरूले मतका आधारमा नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र सङ्घीय समाजवादी फोरमले ४ सय ७० मत पाएका थिए । यस आधारमा यहाँ वाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत देखिन्छ । जुन मत नेपाली कांग्रेसले पाएको मतभन्दा ९ हजार ४ सय ५० बढी हो ।
क्षेत्र नं. २ मा एमालेकी पवित्रा खरेल, कांग्रेसका उद्धव थापा र फोरमका मणी राई बीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्छन् । यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्छन् भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्छन् । क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।
स्थानीय तहमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र सङ्घीय समाजवादी फोरमको ४ सय ३१ मत छ । यहाँ वाम गठबन्धनको मत एकै ठाउँमा मिसाउँदा ३६ हजार २ सय २७ हुन्छ, जुन नेपाली काङ्ग्रेसको मतभन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ । यदि यो मत पनि वाम गठबन्धनतिर जाने हो भने प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काग्रेस भारी मतले पछाडि पर्ने देखिन्छ ।
क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देन र नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाबीच प्रर्तिष्पर्धा हुँदैछ । यो क्षेत्रमा बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र विर्तामोड नगरपालिकाको वडा नं. ८ पर्छ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली काङ्ग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत मिसाउँदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २३ हजार २८ मत बढी हो ।
क्षेत्र नं. ४ मा एमालेका एलपी साँवा, कांग्रेसका देउकुमार थेवेबीच मुख्य प्रतिस्पर्धा हँुदैछ । यो क्षेत्रमा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्छन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा मोटामोटी रूपमा नेपाली कांग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र सङ्घीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको पक्षमा नेपाली काङ्ग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।
क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेसका खगेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रूपमा नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।

मोरङ

मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । जहाँ कूल ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् । कांग्रेसको पकड क्षेत्र मानिएको मोरङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनावी मैदानमा होमिएपछि नेपाली काङ्ग्रेसको साइज घट्ने अनुमान गरिएको छ ।
मोरङ क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, नेपाली काङ्ग्रेसका डिकबहादुर लिम्बु र सङ्घीय समाजवादी फोरमका देवेन्द्र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नंंं. १ मा १ लाख ७ हजार २ सय ३५ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनका क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसले २७ हजार ६ सय ९७ मत पाएको थियो । यस्तै नेकपा एमालेले २५ हजार ६ सय ४४, माओवादी केन्द्रले ७ हजार ४ सय १९, नयाँ शक्तिले ३७, राप्रपाले ४ सय ९५, फोरम लोकतान्त्रिकले ३८ र सङ्घीय समाजवादी फोरमले ६३ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६३ मत छ । यहाँ नेपाली काङ्ग्रेसले प्राप्त गरेको मतभन्दा ५ हजार ३ सय ६६ हाराहारी मतले वाम गठबन्धन अगाडि रहेको छ ।
मोरङ क्षेत्र नं. २ मा १ लाख ११ हजार ३ सय २१ मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका ऋषिकेश पोखरेल, नेपाली काङ्ग्रेसका मिनेन्द्रप्रसाद रिजाल र सङ्घीय समाजवादी फोरमका युवराज कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा मोरङ २ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ९ सय ८०, नेकपा एमालेले १९ हजार १७, माओवादी केन्द्रले १२ हजार २ सय ८२, नयाँ शक्तिले ४ सय ४९, राप्रपाले २ हजार ७ सय ९, फोरम लोकतान्त्रिकले ७ सय ९१ र सङ्घीय समाजवादी फोरमले ३ हजार ६ सय ५३ मत ल्याएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार २ सय ९९ मत रहेको छ । मेची अञ्चलमा राप्रपाले पनि वाम गठबन्धनलाई सघाउने बताइरहेका बेला वाम गठबन्धनमा राप्रपाको मत जोड्दा ३४ हजार ८ हुन्छ । नेपाली काङ्ग्रेसको मतमा फोरम लोकतान्त्रिकले पाएको मत मिसाउँदा २३ हजार ७ सय ७१ हुन्छ, जुन वाम गठबन्धनको मतभन्दा १० हजार २ सय ३७ कम हो । यस आधारमा हेर्दा मोरङ क्षेत्र नं. २ मा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ ।
क्षेत्र नं.३ मा आगामी निर्वाचनका लागि १ लाख २७ हजार ४ सय ९६ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल, नेपाली काङ्ग्रेसका सुनिलकुमार शर्मा र सङ्घीय समाजवादी फोरमका लोक सागर साँवाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ६ मत पाएको थियो भने नेकपा एमालेले २९ हजार १ सय ७३, माओवादी केन्द्रले १३ हजार ४ सय ९८, नयाँ शक्तिले ७ सय १०, राप्रपाले ५ सय ३५, सङ्घीय समाजवादी फोरमले ३५ र फोरम लोकतान्त्रिकले ११ सय २ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ७१ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २० हजार ६ सय ६५ मत धेरै देखिन्छ । स्थानीय तहमा राजनीतिक दलले पाएको मत प्रतिनिधिसभा निर्वाचनका बेला केही फरक परे पनि यहाँ बाम शक्ति नै बलियो हुने देखिएको छ ।
क्षेत्र नं.४ मा ९९ हजार १ सय २४ मतदाता रहेका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली काङ्ग्रेसका महेश आचार्य चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडाध्यक्षहरूले पाएको मतका आधारमा क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसले १७ हजार १, नेकपा एमालेले १७ हजार ९ सय ३३, माओवादी केन्द्रले ६ हजार १ सय ३१, राप्रपाले १६ सय ३, फोरम लोकतान्त्रिकले ८ हजार २ सय १ र सङ्घीय समाजवादी फोरमले ४ हजार २ सय २८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ६४ मत देखिन्छ । यस्तै हालसालै नेपाली काङ्ग्रेसमा बिलय भएको फोरम लोकतान्त्रिकले पाएको मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिसाउँदा २५ हजार २ सय २ हुन्छ । अर्थात् यहाँ नेपाली काङ्ग्रेस ११ सय ३८ मतले अगाडि देखिन्छ । यहाँ राप्रपाले १२ सय ३ मत ल्याएको थियो । लोकतान्त्रिक गठबन्धनमा समेत रहेको राप्रपाको मत नेपाली काङ्ग्रेसलाई जाने हो भने नेपाली काङ्ग्रेस केही बलियो हुनेछ ।
क्षेत्र नं. ५ मा ८९ हजार २ सय ८७ मतदाता रहेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल, नेपाली काङ्ग्रेसका तर्फबाट अमृतकुमार अर्याल र सङ्घीय समाजवादी फोरमबाट राजकुमार यादव प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ७ सय ३०, नेकपा एमालेले १० हजार ४ सय ९३, माओवादी केन्द्रले १० हजार २ सय २३, नयाँ शक्तिले ६७, राप्रपाले १ हजार ३ सय १७, फोरम लोकतान्त्रिकले २ हजार ४ सय ६५ र सङ्घीय समाजवादी फोरमले १४ हजार १ सय ८ मत पाएको थियो ।
यस आधारमा हेर्दा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २० हजार ७ सय १६ मत रहेको छ भने नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १६ हजार १ सय ९५ मत पाएको थियो, जुन वाम गठबन्धनको भन्दा ४ हजार ५ सय २१ मत कम हो ।
क्षेत्र नं. ६ मा आगामी निर्वाचनका लागि १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् । यहाँ वाम गठबन्धनबाट एमालेका लालबाबु पण्डित र नेपाली काङ्ग्रेसबाट डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डित पूर्व सामान्य प्रशासन मन्त्री हुन् भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।
गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने नेपाली काङ्ग्रेस फोरम लोकतान्त्रिकले पाएको मत हिसाब गर्दा २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ । स्थानीय तहमा पाएको मतका आधारमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।

सुनसरी

चासोमा रहेको अर्को जिल्ला हो सुनसरी । जहाँ ४ वटा निर्वाचन क्षेत्र छन् । जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् ।
क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोक कुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।
गत स्थानीय तहको निर्वाचनमा सुनसरी १ मा काङ्ग्रेसले २३ हजार २४, एमालेले ३० हजार १ सय ३८, माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्तिले ५ हजार ५ र राप्रपाले ५ सय ८७ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ८ सय ७८ मत देखिन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १९ हजार ८ सय ५४ बढी मत हो । यहाँ स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरी ५ हजार ५ मत पाएका थिए । यो मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिलाउने हो भने २८ हजार २९ मत हुन्छ । यो मत जोड्दा पनि लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १४ हजार ८ सय ४९ पछाडि परेको छ । स्थानीय तहको चुनावमा आधारमा सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले सहजै जित निकाल्न सकिने अवस्था देखिँदैन ।
क्षेत्र नं.२ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेज नारायण चौधरी चुनावी मैदानमा छन् ।गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धन भन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यसआधारमा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्नेछ ।
क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता एवं मन्त्री विजयकुमार गच्छदारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ ।
क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र फोरम लोकतान्त्रिकका महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ६७ र सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो । यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २२ हजार ५ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत छ । यसरी हेर्दा यी जिल्लामा चुनावी भिडन्त रोचक देखिन्छ । कहाँ कसले बाजी मार्छ यसको फाइनलका लागि त २१ गतेसम्म कुर्नैपर्छ ।

Comment with Facebook

Share This News !

Ads




shares