मुख्यमन्त्रीमा रस्साकसी, फोरम नपाए वामपन्थीसँग सहकार्य गर्न

जनकपुर ,२१ माघ गते

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच प्रदेश २ मा मुख्यमन्त्री को हुने भन्नेमा सहमति जुट्न सकेको छैन । राजपाभन्दा चार सिटले ठूलो फोरमले सिद्धान्तत: आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । राजपा भने आलोपालोको अडानमा छ ।

फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेस गठबन्धनसँग छ । प्रदेशका १ सय ७ सांसदमा फोरम र राजपाको बहुमत छ । फोरमले आफ्नो पार्टीबाट हुने मुख्यमन्त्रीलाई पूरै अवधि दिनुपर्ने अडान राखेकाले सहमति नजुटेको राजपा नेता मनीष सुमनले बताए । फोरमसँग औपचारिक छलफल त भएको छैन । तर, मुख्यमन्त्री सिंगो प्रदेशको नेतृत्व गर्न सक्ने क्षमताको हुनुपर्छ । आलोपालो हुनुपर्छ भन्ने मान्यता हाम्रो हो, सुमनले भने चार सिटले मात्रै फोरम ठूलो छ । आधा–आधा चलाउने गरी सहमति गर्दा राम्रो हुन्छ ।

फोरमका एक नेताले आफ्नो पार्टीको पूरै अवधि मुख्यमन्त्री हुनुपर्ने बताए । ‘मुख्यमन्त्री बाँड्ने पक्षमा अध्यक्षज्यू पटक्कै हुनुहुन्न ती नेताले भने, राजपाले यस्तो सर्त राख्ने हो भने विकल्प सोच्न सकिने पक्षमा उहाँ हुनुहुन्छ ।’ दुई दलबीच कुरा नमिले सरकार निर्माणका लागि दोस्रो विकल्प फोरम र वाम गठबन्धन हुन सक्छ । एमाले नेता शत्रुधन महतो भने वाम गठबन्धनले सरकार निर्माणमा अहिले कुनै सक्रियता नदेखाएको बताए । ‘हामी आफ्नै संसदीय दलको नेता छान्ने प्रक्रियामा छौं, महतोले भने, दलको नेता चयन भएपछि हाम्रो आवश्यकता देखिए सरकार निर्माणमा पनि छलफल होला ।

फोरम नेता रामसाय यादवले भने दुई दलबीच औपचारिक रूपमा कुनै छलफल नभएको बताए । ‘सैद्धान्तिक रूपमा ठूलो पार्टीले मुख्यमन्त्री लिने कुरा हो, उनले भने । राजपा नेता जितेन्द्र सोनलले प्रदेश नम्बर २ मा राजपा र फोरम मिलेरै सरकार बन्ने दाबी गरे । ‘अरू विकल्प हामीले सोचेका छैनौं, जनताको म्यान्डेट पनि दुई दल मिलेर सरकार बनाऊ भन्ने नै हो,उनले भने, ‘दुवै पार्टीले दलको नेता छानिसकेपछि मुख्यमन्त्री, सभामुख, मन्त्रीहरूबारे छलफल होला, अहिले विकल्प सोच्नु भनेको जनतालाई धोका दिनु हो ।

दुवै दलका आन्तरिक बैठकका लागि दुवै दलका शीर्ष नेताहरू जनकपुरमा भेला भएका छन् । आकांक्षीहरू बढी भएकाले दुवैले संसदीय दलको नेता चयन भने गर्न सकेनन् । फोरमभित्र संसदीय दलको नेताका लागि लालबाबु राउत गद्दी, विजयकुमार यादव, शैलेन्द्रप्रसाद साह र रामाशिष यादव आकांक्षी देखिएका छन् । दलको नेता नै मुख्यमन्त्री हुने भएकाले बैठकमा सर्वसम्मत हुन नसकेको स्रोतले बतायो । फोरमले संसदीय दलको नेता चयनका लागि आइतबार बैठक बोलाएको छ । पार्टी नेता रेणु यादवको संयोजकत्वमा शम्भुनाथ झा र शेषनारायण यादव सदस्य रहेको समिति बनाइएको छ ।

‘निर्वाचन समिति बनेपनि आइतबारको बैठकमा फोरमबाट सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ, बैठकपछिप्रदेश सांसद रामाशिष यादवले भने,‘आज कसैले पनि उम्मेदवारको आकांक्षा गरेको छैन । भोलि सर्वसम्मत रूपमै उम्मेदवार मनोनयन हुन्छ ।’ शनिबारको बैठकमा प्रदेश संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष यादवले प्रशिक्षणसमेत दिएका थिए ।

राजपामा दलको नेताका लागि सोनाल, नवलकिशोर साह र रामनरेश राय मुख्य आकांक्षी छन् । फोरमले मुख्यमन्त्री पाएमा राजपाले मनीष सुमनलाई सभामुखमा पठाउन सक्ने सम्भावना छ । पार्टीभित्र सभामुखमा उनको नाम चर्चामा छ । यता कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि प्रदेश संसदीय दलका लागि छलफल सुरु गरेका छन् ।
एमालेले संसदीय दलको नेताका लागि शनिबार आन्तरिक प्रयास भएको थियो । सहमति नभएपछि शत्रुधन महतो र सत्यनारायण मण्डलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । कांग्रेसमा रामसरोज यादवको नाम चर्चामा छ । प्रदेश नम्बर २ को प्रदेश सभामुखको निर्वाचन फागुन २ मा हुने भएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares