फिल्मको पछिल्लो बजार चीन हुदै

काठमाडौँ, बैशख १४ गते।(एजेन्सी)
आर्थिक र राजनीतिक मञ्चमा मात्र नभई कला र मनोरञ्जनमा पनि चीन सशक्त रूपमा उदाउन थालेको छ । पछिल्लो समय चीनमा तीव्र रूपमा वृद्धि भएको फिल्म बजारले यसको संकेत गर्छ । भारतीय फिल्मको प्रभावमा रहेको नेपाली फिल्मले चीनतिर भने खासै आँखा लगाइरहेको छैन । सन् २०१४ यता चीन हलिउडको सबैभन्दा ठूलो विदेशी बजार बनिरहेको छ । संसारको सबभन्दा ठूलो र महँगो फिल्म उद्योग हलिउड (अमेरिका) को करिब ७० प्रतिशत आम्दानी अहिले विदेशी बजारबाट हुने गरेको छ । तीन वर्ष अघिसम्म अमेरिकापछि जापान हलिउडको ठूलो बजार थियो । अहिले चीनले त्यसलाई जितिसकेको छ । गत वर्षदेखि भारतीय फिल्मको सबैभन्दा ठूलो बजारका रूपमा पनि चीन देखापरेको छ । कतिसम्म भने आमिर खान अभिनित फिल्म ‘दंगल’ले संसारभरबाट २ हजार १ सय २२ करोड कमाउँदा आधाभन्दा बढी कमाइ चीनबाटै गरेको छ । चीनमा यो फिल्मले १ हजार ३ सय ३० करोड रुपैयाँ कमायो । जबकि यो फिल्मले भारतभरि जम्मा ३ सय ८६ करोड कमाएको थियो । यस हिसाबले हेर्दा यो फिल्मले भारतभन्दा चीनमा करिब चार दोब्बर बढी कमाइ गर्यो ।
‘दंगल’ पछि अहिले बलिउडमा चीनमा फिल्म रिलिज गर्ने होड नै सुरु भएको छ । भारतको सर्वाधिक कमाइ गर्नेमध्येको अर्को फिल्म ‘बाहुबली’ यही मे ४ देखि चीनमा रिलिज हुँदै छ । ‘बाहुबली’ले चीनमा ४ सय करोड कमाइ गर्यो भने यो ‘दंगल’ लाई पछाडि पारेर सबैभन्दा बढी कमाइ गर्ने भारतीय फिल्म बन्नेछ । चीनमा भएको मोटो कमाइकै कारण विश्वमै सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्महरूको टप फाइभको तीन नम्बरमा आमिरकै अर्को फिल्म ‘सिक्रेट सुपरस्टार’ परेको छ । यसको कलेक्सन ९ सय ७० करोड छ । चौथो नम्बरमा रहेको ‘बजरंगी भाइजान’ले ९ सय ५७ करोड र आमिरकै ‘पीके’ले ८ सय ५४ करोड कमाइ गरेको छ ।
सरकारी नियमअनुसार चीनमा जम्मा ३० विदेशी फिल्म रिलिज हुन सक्छन् । विदेशी फिल्मको पनि कोटा छ । यसमा लामो समय हलिउड फिल्मको मात्र बोलवाला थियो । तर आमिरको बढदो लोकप्रियतासँगै बलिउडको बजार चीनमा विस्तार हुन थालेको हो । ३० विदेशी फिल्ममा भारतीय फिल्मका लागि वर्षमा ५ वटा मात्र कोटा छ । यही कोटाका लागि बलिउडमा आन्तरिक प्रतिस्पर्धा चर्किने गर्छ । यो होडबाजीले पछिल्लो समय वर्षमा ५ भन्दा बढी भारतीय फिल्महरू पनि रिलिज हुन सक्ने सम्भावना देखिँदै गएको छ ।
चीन र भारत दुवै एक अर्बभन्दा बढी जनसंख्या भएका देश हुन् । तर, फिल्म बजारको हिसाबले भारतभन्दा चीन करिब तीन गुणा ठूलो छ । भारतमा कुल ९ हजार फिल्म प्रदर्शन गर्ने स्क्रिन छन् भने चीनमा ३० हजार स्क्रिन छन् ।
भारतमा भएका ९ हजारमा पनि आधाभन्दा बढी त दक्षिण भारतमा छन्, जहाँ तमिल, तेलगु, कन्नड, मलयालमलगायत भाषाका फिल्म चल्छन् । सलमान खान र आमिर खानजस्ता बलिउड सुपरस्टारका फिल्म भारतभरमा बल्लतल्ल ४ देखि ५ हजार स्क्रिनमा रिलिज हुन्छन् । जबकि चीनमा ‘दंगल’जस्तो फिल्मले १० देखि १२ हजार स्क्रिन पाउँछन् । स्क्रिनको यो गणितले पनि कमाइमा ठूलो फरक पारेको हो । संसारभर सबभन्दा धेरै फिल्मका टिकट बिक्री हुनेमा बलिउड हो । तर, टिकटदर सस्तो भएका कारण हलिउडको भन्दा बलिउड फिल्मको कमाइ थोरै हुने गरेको छ ।

नेपाली फिल्मको सम्भावना
हलिउड र बलिउडले यति ठूलो कमाइ गरिरहेका बेला आफ्नै छिमेकमा भएको बजारतिर नेपाली फिल्मले भने नजर लगाउन सकेको छैन । ‘नेपाली फिल्म उद्योगले चीनमा फिल्म प्रदर्शनको सम्भाव्यता अध्ययनसमेत गर्न सकेको छैन,’ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘भारतमा ठूलो संख्यामा नेपाली समुदाय नै भए पनि सेन्सरको झन्झटिलो प्रक्रियाले छरितो हुन सकेको छैन ।’ अधिकारीले भनेजस्तै नेपालले भारतमा समेत आफ्ना फिल्म चलाउन सकेको छैन । अर्बभन्दा बढी जनसंख्या भएका दुई छिमेकीको बजारमा प्रवेश गर्न सक्ने हो भने नेपाली फिल्मको बजार निकै ठूलो मात्रामा बढ्ने विश्लेषकहरू बताउँछन् ।
तर, यथार्थमा भने नेपालभित्रैका हलमा पनि बलिउडको दबदबा छ । नेपालभर झन्डै २ सय स्क्रिन छन् । तीमध्ये पनि राम्रा र टिकट मूल्य धेरै भएका हलमा बलिउडका फिल्म नै चल्ने गरेका छन् । निर्माता संघका अध्यक्ष अधिकारी भन्छन्, ‘हाम्रो आफ्नै बजार सानो छ, निर्यातमुखी उद्योगको हिसाबले त हामीले सोचेकै छैनौं ।’ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत चलचित्र एवं मनोरन्जन फोरमका अध्यक्षसमेत रहेका अधिकारीले महासंघमार्फत छिट्टै चीनमा डेलिगेसन जाने तयारी भइरहेको र उक्त डेलिगेसनमा विदेशी फिल्मको चिनियाँ कोटामा नेपाली फिल्मलाई स्थान दिन पहल गर्ने बताए । राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन हुन सक्यो भने मुलुकबाहिरको बजारको ढोका खुल्ने उनी बताउँछन् । राष्ट्रिय चलचित्र नीतिले फिल्मलाई ‘निर्यातमुखी सांस्कृतिक उद्योग’का रूपमा परिभाषित गरेको छ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले नीति कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै मुलुकबाहिर नेपाली फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो जेठ मध्यतिर ‘फिल्म डेस्टिनेसन इन नेपाल’ विषयक सार्कस्तरीय सेमिनार गर्न लागेको बताइन् ।

Comment with Facebook

Share This News !

Ads




shares