रानीपोखरी पुनर्निर्माणमा बखेडा

काठमाडौँ — रानीपोखरीमा डेढ वर्षअघि विवाद आउँदा पुरातत्त्व विभागले प्रमाण भेटिए प्राचीन शैलीमा पुनर्निर्माण गर्न सकिने बताएको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरले कान्तिपुरसँग भनेका थिए, ‘प्राचीन शैलीको प्रमाण भेटियो भने त्यहीअनुसार निमार्ण गर्न तयार छौं ।

रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि प्रताप मल्लकै शैलीमा पुनर्निर्माण गर्न सुझाव दिने गरी बनेको विज्ञ समिति सदस्यमा उनै कुँवर समितिमा छानिए । समितिले प्रतिवेदन बुझाउने क्रममा कुँवरसहित पुरातत्त्व विभागका तीन जना सदस्यले हस्ताक्षरै गरेनन् । हस्ताक्षर नगरेपछि कुँवरले भने, ‘यो सांस्कृतिमा आएको परिवर्तन हो । राणाकालमा संस्कृतिमा परिवर्तन आयो । परिवर्तन आएको संस्कृतिलाई स्विकार्नुपर्छ । राणाकालमा आएको सांस्कृतिक परिवर्तनलाई हामीले मास्नु हुँदैन ।’
उनै व्यक्तिका दुईथरी कुरा किन आए भनेर आश्चर्यमा छन् सम्पदाप्रेमी । ‘पहिला पुरातत्त्वले आफूले बनाउने जिम्मा लिएको थिएन । त्यतिबेला यसको निर्माणको जिम्मा महानगरपालिकाले लिएको थियो । महानगरले बनाउने बेलामा चाहिं प्राचीन शैली भन्ने अनि अहिले आफूले बनाउनुपर्ने बेलामा चाहिं सांस्कृतिक परिवर्तन भनेर बखेडा निकाल्ने ?’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘यो सब कमिसनको खेल हो । ठेक्कापट्टाको खेल हो । हामी यो वा त्यो बहानामा सम्पदा मासिन दिंदैनौं । विज्ञले प्रमाणसहित प्रताप मल्लको पालाको स्वरूप दिएको छ । यसलाई पुरातत्त्वले नमानी सुखै छैन । अनेक परिभाषा दियो भन्दैमा हामी पत्याउन तयार छैनौं । विज्ञले दिएकै शैलीमा बनाउन हामी पुरातत्त्व विभागलाई बाध्य बनाउँछौं ।’ रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिं यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको विज्ञ समितिका संयोजक पुरातत्त्व विभागका पूर्वमहार्निदेशक विष्णु कार्कीले जानकारी दिए । ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ । उक्त चित्र सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपाल घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’
रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिरको कामको निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ । मन्दिरको पनि पहिला महानगरले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसलाई भत्काएर पुरातत्त्वले निर्माणको जिम्मा लिएको थियो । मन्दिरको निर्माण लागत १ करोड २६ लाख रुपैयाँ छ । पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न तथ्यसमेत प्राप्त भएको कार्कीले जानकारी दिए । त्यही प्राप्त तथ्यको आधारामा पोखरी पुनर्निर्माण गर्न पनि समितिले सुझाव दिएको छ । पुरातत्त्वले भने विज्ञ समिति पोखरीको अध्ययन गर्नका लागि मात्रै भएकाले मन्दिरको विषयमा विज्ञ समितिले दिएको प्रतिवेदन मान्नुपर्ने बाध्यता नरहेको बताएको छ । मन्दिरका धेरै काम सकिएका छन् । अब यसलाई चलाउन थाल्ने हो भने ५ वर्षमा पनि मन्दिर निर्माण सकिंदैन ।

Comment with Facebook

Share This News !

Ads




shares