कुष्ठरोगको बिस्तृत जानकारी

काठमाडौँ, माघ १८ गते।
सन् २०१७ मा अंगभंग भएपछिको अवस्थामा करिब ८७ जना नयाँ कुष्ठरोगीले उपचार सेवा लिए। ४ सय १५ जना १४ वर्षमुनिका बालबालिकामा समेत कुष्ठ भेटियो। यस्ता रोगीले उपचार गरेपछि कुष्ठरोग निको भए पनि रोगले गर्दा उनीहरूको नसा लगायतका अंगमा पुगेको क्षतिको भरपाई फेरि कहिल्यै हँदैन। उनीहरू बाँचुन्जेल कुष्ठले छोडेको चिनो साथमै हुन्छ।
‘कुष्ठको लक्षणलाई वर्षांैसम्म वास्ता नगरेर औंला झर्न लाग्दा, अंगभंग हुन लाग्दा मात्र उपचारका लागि पुग्नेहरूको जमात यस पटक नै ८७ जना पुग्यो,’ कुष्ठरोग नियन्त्रण महाशाखाका कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रवीन्द्र बाँस्कोटा भन्छन्। सन् २०१७ मा उपचारका लागि आएका नयाँ ३ हजार २ सय १५ बिरामीमध्ये १ हजार ३ सय ६१ जना महिला थिए। यदि हात वा खुट्टा झमझमायो, छालामा लाटो फुस्रो नचिलाउने दाग देखियो, स्नायु सुन्नियो, कानको लोती बाक्लो हुन थाल्यो भने तुरुन्तै छाला रोग विशेषज्ञकहाँ गइहाल्नुुपर्छ। यस्तो लक्षण कुष्ठरोगको समेत हुन सक्छ। कुष्ठको प्रारम्भिक लक्षणलाई बेवास्ता गर्दै जाँदा पछि अंगभंग हुने स्थिति पनि आउन सक्छ। कुष्ठ रोगले गर्दा हातखुट्टाका आंैला, नाक गलेर अंगभंग भइसकेपछि मात्र अस्पताल धाउने नेपालीको संख्या कम छैन।
माइक्रो ब्याक्टेरियम लेप्रे कीटाणुद्वारा हुने कुष्ठरोग दीर्घकालीन संक्रामक रोग हो। यो रोगले मुख्य रूपमा छाला, स्नायु, माथिल्लो श्वास मार्गको श्लेष्मा (म्युकोसा) र आँखालाई प्रभावित पार्छ। धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण उपयुक्त समयमा उपचार नगरे कुष्ठले छाला, स्नायु, हात, खुट्टा र आँखामा स्थायी क्षतिसमेत उत्पन्न गर्ने बताउँछन्। समयमै उपचार गर्दा यो रोग निको हुन्छ, यसो गरे विकलांगता रोक्न सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, माइक्रो ब्याक्टेरियम लेप्रो कीटाणुले शरीरमा बिस्तारै आफ्नो संख्या बढाउँदै लान्छ। यो रोगको औसत इक्युबेसन पिरियड (ओथार अवधि) पाँच वर्ष हुन्छ। लक्षण देखिन चाहिँ केही केसमा एक वर्ष र केहीमा २० वर्षसम्म लाग्न सक्छ।
दुई प्रकारका कुष्ठ
यो रोग कम कीटाणु भएको प्यासी ब्यासेलरी (पीबी) र बढी कीटाणु भएको मल्टी ब्यासिलरी (एमबी) गरी दुई प्रकारको हुन्छ। हाम्रो मुलुकमा पीबीका करिब ४० प्रतिशत र एमबीको करिब ६० प्रतिशत बिरामी भेटिने गरेका छन्।
यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमेन सर्भिस, नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का अनुसारपीबी छालामा ‘हाइपोपिग्मेन्टेसन’ वा बढी दागका कारण चिनिन्छ। ती ठाउँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ। एमबीको तीव्रता ठीकैको हुनुका साथै यसमा छालामा दाग पीबीजस्तै देखिन्छ। तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ।
उपचार
कुष्ठरोग जुनसुकै खालको भए पनि बहुऔषधि उपचार नियमित गर्ने गरे पूर्ण रूपमा निको हुन्छ। बहुऔषधोपचार चिकित्सा क्याप्सुल एवं चक्कीको संयोजन हो। यो उपचार भने नटुटाई नियमित रूपमा गर्नुपर्छ। रोगीले खाना खाएपछि सधैँ निश्चित समयमा बहुऔषधोपचार लिनुपर्छ। यस्तो औषधि कहिल्यै टुटाउनु हुन्न।बहुऔषधोपचार डब्लूएचओले सन् १९८१ मा प्रस्तावित गरेको हो। यसअन्तर्गत तीनवटा औषधि डेप्सोन, रिफयाम्पिसिन र क्लोफाजिमाइन हुन्छ। यो रोगको ग्यारेन्टीयुक्त उपचार हो। यो औषधिको अर्को लाभ भनेको यसको त्यस्तो दुष्प्रभाव छैन।
पीबी कुष्ठरोग भएकाहरूले डेप्सोना र रिफयाम्पिसिन गरी दुइटा औषधि छ महिनासम्म र एमबी कुष्ठरोग भएकाहरूले डेप्सोना, रिफयाम्पिसिन र क्लोफाजिमाइन गरी तीनवटा औषधि एक वर्षसम्म सेवन गर्नुपर्ने हुन्छ। हाम्रो मुलुकका सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको उपचार र औषधि नि:शुल्क हुन्छ। हालसम्म मुलुकमा १ लाख ८० हजार जनाले कुष्ठरोगको उपचार पाइसकेका छन्।
कसरी सर्छ?
डब्लूएचओका अनुसार कुष्ठरोग नाक र मुखबाट निस्किने पानीको थोपाको माध्यमले उपचार नगराएका कुष्ठरोगीको अति नजिकको सम्पर्कले सर्छ।तर अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) को तथ्यपत्र अनुसार अझै अनुसन्धानकर्ताहरू कुष्ठ सर्ने माध्यमबारे स्पष्ट छैनन्। तथापि धेरैजसोले यो रोग श्वास प्रणालीका माध्यमले नाकबाट निस्किने पानीको थोपाबाट सर्छ भन्ने ठान्छन्।
यस्तै, फाटेको छालाबाट समेत यो रोग सर्ने सम्भावना हुन्छ किनभने माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै राम्ररी बाँच्छ। एनआईएआईडीका अनुसार यसले मुख्यत: छाला र बाहिरी नसाको माथिल्लो सतहलाई प्रभावित गर्छ।
कुष्ठ सर्न नदिन एलपेप
यदि कुनै परिवारकासदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिन लेप्रोसी पोस्ट एक्सपोजर प्रोफेलेक्सिस (एलपेप) अन्तर्गतएक मात्रा औषधि खुवाए रोगसर्ने सम्भावना ६० प्रतिशतसम्म कम हुन्छ। यसअन्तर्गत
रोग सर्ने जोखिममा रहेकाहरूलाई एक मात्रा रिफयाम्पिसिन एन्टिबायोटिक दिइन्छ।हाल झापा, इलाम, मोरङ, धनुषा, पर्सा, कपिलवस्तु र रुपन्देही गरी सात जिल्लामा एलपेप सेवा सञ्चालित छ। डा. बाँस्कोटा कुष्ठ देखिएका परिवारका अन्य सदस्य वा निकटका छरछिमेकीले एलपेप कार्यक्रम सञ्चालन नभएको जिल्लामा समेत छाला रोग विशेषज्ञको सल्लाहमा एलपेप प्रक्रियामा गएर आफूलाई सुरक्षित राख्न सक्ने बताउँछन्।
औषधिको साइड इफेक्ट
कुनै पनि औषधिको साइड इफेक्ट भएजस्तै कुष्ठरोगको औषधिको समेत सानो (माइनर) र प्रमुख (मेजर) साइड इफेक्ट देखिन्छ। यसको सानो साइड इफेक्टअन्तर्गत खानामा रुचि नहुने, वाकवाकी लाग्ने, पसिना/पिसाब रातो हुने आदि हुन सक्छ। केही दिनमा यस्तो समस्या आफंै हराएर जान्छ। अलिकति रुघाखोकी वा ज्वरोसमेत आउन सक्छ। यस्ता समस्या कसैकसैलाई नहुन पनि सक्छ। यस्तो समस्याका लागि कुनै उपचार चाहिँदैन, बिरामीले यो औषधिको कारणले भइरहेकोबुझ्नुपर्छ। तर करिब १० हजार जनामा एक जनालाई प्रमुख साइड इफेक्टसमेत देखिन्छ। यो औषधिको एलर्जी भएर छाला उप्किने, कलेजोमा खराबी हुने आन्द्रा सुन्निने आदि हुन सक्छ। मेजर साइड इफेक्ट देखिए तुरुन्त औषधि बन्द गरेर सेकेन्ड लाइनको औषधि दिइन्छ भने यसले भएको क्षतिको समेत उपचार गरिन्छ।बर्सेनि ३–४ हजार नयाँ रोगीको उपचार गर्दा मजेर साइड इफेक्ट हुने करिब ३–४ जना रोगी भेटिने डा. बाँस्कोटा बताउँछन्।लक्षण
कुष्ठरोगको लक्षणअन्तर्गत हात र खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाएको जस्तो हुने समस्या देखिन्छ। यस्तै अनुहारमा कमिला हिँडेजस्तो लाग्नुको साथै छालामा रंगहीन दाग देखिन्छ। यो दाग छोएपछि संवेदना हुन्न, त्यो दागमा कुनै वस्तु घोचेको अनुभवसमेत हँदैन।
यस्तै, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुनु, नाक थेप्चो हुनुका साथै अनुहारलगायत शरीरका भागहरूमा गिर्खा देखा पर्नुसमेत यसको प्रमुख लक्षण हो। आँखीभौं, आँखाको परेला कम हुनु वा झर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, कहिलेकाहीँ कुर्कुच्चा फुटेर घाउ हुनुजस्ता असामान्य लक्षणसमेत देखा पर्छन्।

Comment with Facebook

Share This News !

Ads




shares