डिडिसी घोटाला काण्ड

काठमाडौँ, माघ १९ गते।(एजेन्सी)

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले पछिल्लो तीन वर्षमा घोटाला गरेको २ करोड ४९ लाख रुपैयाँमध्ये ६० लाख रुपैयाँ फिर्ता गरेका छन् । सञ्चालक समितिले आर्थिक हिनामिना गरेको रकम फिर्ता गर्न कर्मचारीलाई निर्देशन दिएको एक सातामा ६० लाख फिर्ता भएको हो ।

सञ्चालक समितिले हिनामिना गरेको रकम फिर्ता नगर्ने कर्मचारीलाई ग्रेड र बढुवा रोक्काको कारबाही गर्ने निर्णय भएको पत्र बुधबार नै पठाएको छ । ‘मंगलबारसम्म हिनामिना भएको रकम फिर्ता गर्न कर्मचारीलाई निर्देशन भएको थियो, तोकिएको समयमा थोरै रकम मात्र उठेपछि अन्य कर्मचारीलाई कारबाहीको निर्णय गर्न लागेको जानकारी दिएका छौँ,’ एक सञ्चालक समिति सदस्यले भने ।

स्रोतका अनुसार सात दिनभित्र ४७ कर्मचारीले घोटाला गरेको रकम फिर्ता गरिसकेका छन् । घोटाला गर्नेमा अधिकांश टे«ड युनियनमा आबद्ध कर्मचारी छन् । उनीहरूले दुधजन्य पदार्थ बिक्री गर्दा संस्थानलाई बुझाउनुपर्ने राजस्वबापतको रकम हिनामिना गरेका छन् ।

त्यस्तै चिलिङ सेन्टरबाट संस्थानको प्रशोधन केन्द्रसम्म दुग्धजन्य पदार्थ ओसार्दा कम परिमाण देखाई घोटाला भएको छ । कतिपयले दुर्घटना हुँदाको औषधि उपचारबापत लिएको पेस्की तिरेका छैनन् । कार्यालयको सामग्री खरिद गर्दा लिएको पेस्कीसमेत फर्स्योट नगरी कर्मचारीले घोटाला गरेका छन् ।

रकम फिर्ता नगर्नेलाई बर्खास्तीको तयारी
सञ्चालक समितिले घोटाला भएको रकम फिर्ता नगर्ने कर्मचारीलाई बर्खास्तीको कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा ग्रेड रोक्काको कारबाही किन नगर्ने भनेर घोटालामा संलग्न प्रत्येक कर्मचारीलाई बुधबार पत्र लेखेको स्रोतले जानकारी दियो ।

‘तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनेका छौँ,’ स्रोतले भन्यो, ‘यसरी पत्राचार गर्दा पनि रकम नबुझाउनेको तत्कालै ग्रेड बढुवा रोक्ने र निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउनेछौँ । निलम्बनपछि पनि रकम तिर्न अटेर गर्नेलाई सेवाबाटै हटाउनेसम्मको तयारी भएको छ ।’

९ कर्मचारीद्वारा १ करोड घोटाला 
संस्थानका ९ कर्मचारीले करिब १ करोड रुपैयाँ संस्थानको रकम चलाएर नतिरी बसेका छन् । उनीहरूले एक साताको अवधिमा पनि उक्त रकम भुक्तानी गरेका छैनन् । दुग्ध पदार्थ बिक्री–वितरण आयोजनाका तेजनाथ ढकालले २ लाख ७२ हजार ५ सय ३३, शुभाष राईले ८ लाख ५९ हजार ५ सय ७३, प्रेमप्रसाद पराजुलीले ३४ लाख ६ हजार ३ सय ८९ र अर्जुन खत्रीले ३४ हजार २ सय १९ रुपैयाँ अनियमितता गरेका छन् ।

नेपालगन्ज दुग्ध वितरण आयोजनाका अर्जुन पन्थीले १० लाख ४६ हजार अनियमितता गरेका छन् । काठमाडौं दुग्ध वितरण आयोजनाका छविलाल आलेले २१ लाख ६३ हजार २ सय ४३, प्रदीपकुमार थापाले ४ लाख ८५ हजार ६ सय ६ र देवानसिंह दनुवारले २ लाख ४ हजार ७ सय ९१ रुपैयाँ अनियमितता गरेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares