नक्कली नोट कारोबार अभियोगमा फिल्म निर्माता वाग्ले सहित ६ जना पक्राउ

काठमाडौँ,जेष्ठ २ गते।
नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताकारुपमा कलिउडमा सक्रिय वाग्लेको काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेको छ । कमल पोखरी बस्ने सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटीले मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा बिल तिर्दा नक्कली नोट दिएको उजुरी क्याफेका सञ्चालकले गरेपछि थालेको अनुसन्धानका क्रममा नक्कली नोटको गिरोह समात्न सफल भएको हो ।

प्रहरीले सुरुमा उनको साथबाट जेठ १ गते १ लाख २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो । उनैको बयानका आधारमा प्रहरीले ललितपुरको लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठा खानतलासी गरेर एक हजार दरका ७ लाख ४३ हजार नोट बरामद गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मोहनकुमार थापाले काठमाडौ २६ मित्रनगरका सुमधुर क्याफेका संचालकले दिएको सूचनाका आधारमा महेन्द्र बोगटीलाई नक्कली नोटसहित पक्राउ गरिएपछि अन्य अभियुक्त पक्राउ परेका हुन्।

थापाले भने, ‘बोगटीले होटलमा खाएपछि तीन हजार रुपैयाका नक्कली नोट दिएपछि सूचनाका आधारमा अन्य पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंकले कुनै पनि प्रयोजनका लागि नक्कली नोट छाप्न अनुमति नदिने बताएको छ।’ अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ। स्रोतका अनुसार, प्रहरीले संगठीत अपराध निवारण ऐन अन्तर्गत रहेर पनी मुद्दा चलाउने बारेमा छलफल गरेको छ।

को हुन् वाग्ले ?
वाग्लेले नेपाली चलचित्र ओरालो लागेका बेला सुपरहिट चलचित्र लुटको निर्माण गरेका थिए । उनले सन् २०१० मा पहिलो फिल्म फस्ट लभ बनाएका थिए । उनको निर्माणमा छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा र लुट २ जस्ता फिल्महरू रिलिज भएका छन्।
पपकर्न पिक्चर्सले वितरण गरेका कबड्डी, पशुपती प्रसाद, टलकजङ्ग भर्सेस टुल्के पनि वाग्लेको लगानी थियो । कालो पोथी र ह्वाइट सन जस्ता चलचित्र पनि उनले निर्माण गरेका थिए ।

उनी नेपाल चलचित्र निर्माता संघका सह उपाध्यक्ष र नेपाल चलचित्र संघका सदस्य पनि भइसकेका छन् । २०७२ वैशाखमा गएको भूकम्पपछि उनी राहत अभियानमा पनि होमिएका थिए । वाग्ले पछिल्लो पटक लालपुर्जा फिल्म निर्माणमा लागेका थिए । ‘फस्ट लभ’ बाट फिल्म निर्माणमा आएका माधव वाग्लेले ‘चंगा चेट’ फिल्मका लागि उक्त नक्कली नोट छपाएको बुझिएको छ। फिल्मका निर्देशक दीपेन्द्र के खनालले कान्तिपुरलाई दिएको जानकारी अनुसार, फिल्म प्रोपर्टीका रुपमा ‘फिल्म प्रयोजनका लागि’ भनि लेखिएका उक्त नोटहरु आर्ट डाइरेक्सन टीमबाट दुरुपयोग भएको हो।

उनले भने, ‘नक्कली नोट बनाउने जिम्मा आर्ट डाइरेक्टर मेनुका राईमार्फत् उनका असिस्टेन्ट सुजित तामांगलाई दिइएको थियो। सुटिंग सकिएपछि केही रकम निर्मातालाई बुझाएर केही आफैंले राखेर दुरुपयोग भएको रहेछ।’ प्रहरीले अभियुक्तलाई २५ दिनसम्म थुनामा राखी अनुसन्धानका लागि हदम्याद पाउँछ। निर्माता वाग्लेले ‘लुट’ ‘लुट २’, ‘छडे’, ‘रेशम फिलिली’ लगायतका फिल्म निर्माण गरेका छन्।

Comment with Facebook

Share This News !

Ads




shares