ढुंगेललाई रिहा गरेकोमा कांग्रेसको आपत्ति

काठमाडौँ,जेष्ठ १६ गते।
सरकारले हत्या अभियोगमा जेल सजाय भोगिरहेका पूर्वसभासद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा जेल सजाय छुट दिएकोबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्मा विरोध गरेको छ । आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट प्रस्तुत गर्न मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक प्रारम्भमै कांग्रेस सांसदले उठेर विरोध गरेका हुन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठक प्रारम्भ हुँदै गर्दा सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दै थिए । तर, एकाएक कांग्रेसका सांसदहरू उठे । दुवै सदनको संयुक्त बैठक भएकाले छेवैमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमेत थिए ।
सभामुख महराले सरकारको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाले बस्न कांग्रेस सांसदलाई दुईपटक आह्वान गरे । तर, कांग्रेस सांसदहरू बसेनन् । त्यसपछि सभामुख महराले अवरोध गर्नुको कारण राख्न कांग्रेस सांसद गगन थापालाई समय दिए ।

सांसद थापाले द्वन्द्वका घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगले फैसला गर्ने भए पनि ढुंगेलको विषयमा सर्वोच्च अदालतले आफ्नोबारे प्रस्ट भनिसकेकाले यस विषयमा कुनै छुट र विशेषाधिकार सरकारलाई नहुने बताए । सरकारले ढुंगेलको चालचलन ठीक भएकाले सजाय छुट गरिएको भनेकोप्रति उनले आपत्ति जनाए ।
‘चालचलन ठीक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन । यो गणतन्त्र हो । हिजो राजालाई मन लागेको बेलामा तेरो चालचलन ठीक तेरो बेठीक भनिन्थ्यो । यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न । उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठीक र बेठिक हुँदैन । यो कानुनले व्याख्या गर्छ,’ थापाले भने ।

ढुंगेल जेलमुक्त
तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल मंगलबार जेलमुक्त भएका छन् । ४० प्रतिशत कैद भुक्तान गरेकाले सरकारले गणतन्त्र दिवसको अवसरमा उनलाई बाँकी कैद मिनाहा गर्दै रिहा गरेको हो । सरकारले आममाफी दिएपछि ढुंगेल मंगलबार बिहान साढे ७ बजे थोरै नेता कार्यकर्ताबीच जेलबाट बाहिर निस्किएका थिए ।

विवेकशीलद्वारा विरोध
विवेकशील साझा पार्टीले पनि कर्तव्यज्यान मुद्दामा सर्वाेच अदालतको फैसलाबाट दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका ढुंगेललाई कैद माफी दिइएकोप्रति विरोध जनाएको छ ।

अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले ढुंगेलको आममाफी रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार बाँकी कैद मिनाह गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सरकारले गणतन्त्रको दिवस पारेर ढुंगेललाई माफी दिन लागेको निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares