जीवनको एक सत्य : वैकुण्ठ मानन्धर

काठमाडौं, साउन २१ गते ।
म दौडिन थालेको ५० वर्षभन्दा बढी भयो । मसँग भएको प्रमाणका आधारमा चाहिँ ५० वर्ष पुग्नका लागि अझै दुई वर्ष दौडनुपर्नेछ । ०२८ सालमा वीरगन्जमा भएको राष्ट्रिय प्रतियोगितामा दौडिएर पाएको मेडल छ । ०२७ सालमा पनि राष्ट्रिय प्रतियोगितामा नै भाग लिएर मेडल जितेको थिएँ, तर त्यो प्रमाणका रूपमा राख्न सकिनँ । भएको मेडलका आधारमा अब दुई वर्ष दौडिएँ भने ५० वर्ष पुग्छ । त्यसपछि गोल्डेन जुब्ली मनाउने योजना बनाएको छु । त्यसवेला उमेरले पनि ६८ वर्ष पुग्छु ।
आजभोलि म दैनिक ८ देखि १० किलोमिटर दौडने गरेको छु । कलंकीमा बस्ने भएकाले बागमतीको किनार हुँदै जावलाखेल, लगनखेल भएर दौडन्छु । अहिलेको मेरो उमेरअनुसार यति दौडिए स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

नियमित दौडिन्छु
म नियमित दौडिन्छु । पहिला प्रतियोगिताका लागि दौडिएँ, अहिले स्वास्थ्यका लागि दौडिन्छु । आजभोलि म दैनिक ८ देखि १० किलोमिटर दौडने गरेको छु । कलंकीमा बस्ने भएकाले बागमतीको किनार हुँदै जावलाखेल, लगनखेल भएर दौडन्छु । अहिलेको मेरो उमेरअनुसार यति दौडिए स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ६० वर्ष नाघेपछि धेरै दौडनुहुँदैन भन्ने चेतनाले कम दौडने गरेको हो । हामी खेलाडीलाई एकैचोटि दौडन छाड्दा पनि समस्या हुन्छ । उमेर पनि बढ्दै जान्छ र शारीरिक क्रियाकलाप पनि त्यहीअनुसार घटाउँदै लानुपर्छ । मैले पनि त्यही गरिरहेको छु । स्वास्थ्यका लागि शारीरिक अवस्थाले दिएसम्म दौडिरहन्छु । दौडिएकै कारण म फिट पनि छु ।

पौष्टिक खाना खान्छु
म पौष्टिक खानामा जोड गर्छु । सबै कुरा तालिका मिलाएर नै चाहिँ खान्नँ । किनभने, हामी सामान्य नेपालीको स्ट्यान्डर्डले नै भ्याउँदैन । एउटा एथलेटले खानुपर्ने कुरा तालिकाअनुसार खानका लागि हामी सामान्य नेपालीको हैसियत छैनजस्तो लाग्छ । उपलब्ध भएका कुरालाई नै ब्यालेन्स गरेर खान्छु । हामी सबै नेपाली खेलाडीको अवस्था यही हो । मैले जसरी खाँदा पनि आवश्यक पौष्टिक तत्व पुग्छ । तर, यो खेलाडीका लागि भने पर्याप्त अवश्य होइन । हाम्रो बाध्यता हो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भिड्न जान्छौँ, तर हाम्रो आवश्यक तयारी त्योअनुसारको हुँदैन । हाम्रो ‘जिन’ नै बलियो भएकाले मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा खेल्न सकिरहेका छौँ भन्ने मेरो अनुभव हो ।
हामीसँग उपलब्ध भएका खाना मिलाएर खाँदा सामान्य व्यक्तिका लागि पौष्टिक तत्व पर्याप्त हुन्छ । तर, हामी सबैमा यो चेतना कम छ । मैले उपलब्ध भएका चिजहरू नै खाएर विभिन्न प्रतियोगितामा भाग लिएँ । देशका लागि मेडल ल्याएँ । अहिले त झन् रिटायर्ड लाइफ छ । घरको खानाले नै पौष्टिक तत्व पुगिरहेको छ ।

बिहान खाजा
बिहान कहिले बिस्कुट, कहिले ओट्स, कहिले अन्डाचिया खान्छु । यो बार यो खाने भनेर रुटिन बनाएको छैन । मौसमअनुसारको फलफूल खान डाक्टरले सुझाएपछि खान थालेको छु ।

बिहान खाना
मेरो मनपर्ने खाना दालभात–तरकारी हो । हामी सामान्य नेपालीले खाने खाना पनि यही नै हो । त्यसैले मेरो दैनिक खाना पनि यही हुन्छ । शरीरलाई आवश्यक प्रोटिन दाल तथा गेडागुडीबाट मिल्छ । भातबाट कार्बोहाइड्रेड, सागसब्जीबाट अन्य भिटामिन ए, सी, ई, बी पाइन्छ । तरकारीमा मौसमअनुसारका साग खान्छु । यही नै पर्याप्त हुन्छ ।

दिउँसो खाजा
दिउँसो खाजा नियमित हुँदैन । कहिलेकाहीँ चिया बिस्कुट, पाउरोटी खान्छु ।

साँझ खाना
डाक्टरको सल्लाहअनुसार साँझ गहुँको रोटी खानुपर्छ भन्ने छ तर मलाई मन नपर्ने भएकाले थोरै मात्रामा भात नै खाने गरेको छु । दाल, तरकारीको मात्रा बढाएर भात कम खान्छु ।

माछामासु खान छाडेँ
मलाई खसीको मासु मीठो लागे पनि खान छाडेको छु । स्वास्थ्यका लागि रातो मासु हानिकारक हुने भएकाले खान्नँ । कहिलेकाहीँ कतै जाँदा खानुपर्ने अवस्था आउँदा मात्रै खान्छु । माछा र कुखुराको मासु खान्छु । अपुग भिटामिन तथा पौष्टिक तत्व यसबाट पुग्छ ।

दैनिक दुई लिटर पानी
म दैनिक दुई लिटर पानी पिउँछु । बिहान उठेपछि एक लिटर पिउँछु । त्यसपछि एक ग्लास दूध । योचाहिँ मेरो नियमित रुटिनमा पर्छ । दुई लिटर पानीले मेरो शरीरको आवश्यकता पूरा हुन्छ । अरू दाल, दूध, चियाबाट पूर्ति हुन्छ । रिटायर्ड लाइफ बिताउन थालेपछि धेरै पसिना बग्ने क्रियाकलाप गर्नुपर्दैन । बिहान दौडँदाबाहेक पसिना बग्दैन । त्यसैले गर्दा पनि पानीको मात्रा कम बनाएको छु । सबैको शरीरको विभिन्न विशेषता हुन्छ, त्यहीअनुसार खाना, पानीको आवश्यकता पर्छ । आफ्नो शरीरलाई बुझेर अथवा डाक्टरको सुझाबअनुसार लिनुपर्छ । शरीरको आवश्यकताभन्दा बढी केही चिज पनि लिनुहुँदैन । खानासँगै पानी पनि आवश्यकताभन्दा बढी भयो भने बेफाइदा नै गर्छ ।

मद्यपान, धूम्रपानबाट टाढा
मेरो क्षेत्रले नै मद्यपान, धूम्रपान गर्न दिएन । मद्यपान गर्नेहरूको बीचमा म कहिल्यै परिनँ । अर्थात् पिइरहेका वेला सँगै भइनँ । जहाँ पायो, त्यहाँ पिउने चिज पनि होइनजस्तो लाग्छ । धूम्रपान देख्नासाथ म टाढा भाग्छु । चुरोट तानेको देख्नासाथ भाग्ने गरेको छु ।
योसँगै अन्य पेयपदार्थ पनि पिउँदिनँ । जस्तो कोकाकोला, पेप्सी, मिरिन्डाले स्वास्थ्यलाई नकारात्मक असर गर्छ, भन्छ मेरो आत्माले । त्यस्तै रेडबुलजस्ता इनर्जी ड्रिंक पनि राम्रो होइन । कतिपय खेलाडी साथीले पिएको देख्दा पनि म नपिउन सल्लाह दिन्छु । यसको साटो फ्रेस जुस अथवा फलफूल खान सुझाब दिन्छु ।

नियमित स्वास्थ्य जाँच
अहिले म नियमित स्वास्थ्य जाँच गर्छु । नियमित स्वास्थ्य जाँच नगर्दाको समस्या ५२ वर्षको उमेरमा भोगिसकेको छु । नियमित स्वास्थ्य जाँच गरेको भए केही समयअघि समस्या थाहा हुन्थ्यो । जसले गर्दा उपचारमा पनि सहज हुन्थ्यो । एक्कासि समस्या आएपछि गाह्रो भएको थियो । मुटुको नसा खुम्चिएर समस्या आएको थियो र दिल्ली गएर उपचार गराउनुपर्ने अवस्था आयो ।
अहिले मेरो स्वास्थ्य ठीक छ । हरेक तीन महिनामा स्वास्थ्य जाँच गर्दै आएको छु । स्वास्थ्यमा समस्या देखिएको छैन । बढ्दो उमेरसँगै स्वास्थ्यप्रति झनै सचेत हुनुपर्ने भएकाले आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै आएको छु । ६० वर्ष कटेपछि झनै खाने कुरामा पनि विशेष ध्यान दिनुपर्ने हुँदो रहेछ । म आफ्नो सचेतनाको कारण फिट छु ।

Comment with Facebook

Share This News !

Ads




shares