नाडाल र फेडेरर शीर्ष वरीयतामा

एजेन्सी मेलबर्न, २८ पुस

अर्को सातादेखि मेलबर्न पार्कमा सुरु हुने वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगितामा स्पेनिस खेलाडी राफेल नाडाल पुरुषतर्फ शीर्ष वरीयतामा रहनेछन् । स्विट्जल्यान्डका रोजर फेडेररले दोस्रो वरीयता पाएका छन् । फेडेरर प्रतियोगिताको साबिक विजेता हुन् । ६ पटकका च्याम्पियन नोभाक जोकोभिक १४औँ स्थानमा छन् । आयोजकद्वारा बिहीबार सार्वजनिक गरिएको वरीयताअनुसार महिलातर्फ सिमोना हालेप शीर्ष स्थानमा रहिन् । कारोलिन वोज्नियाकी भने दोस्रो स्थानमा रहेकी छिन् ।

नाम चलेका बाहिर
यसपटकको अस्ट्रेलियन ग्रान्डस्लाममा नाम चलेका स्टार खेलाडी चोटका कारण बाहिर बसेका छन् । पूर्वविजेता एन्डी मुर्रे र केई निसिकोरीले चोटका कारण नाम फिर्ता लिएका छन् । महिलातर्फ साबिक विजेता सेरेना विलियम्सले फिट नभएको जनाउँदै गत साता मात्र नाम फिर्ता लिइन् । गत सेप्टेम्बरमा छोरी जन्माएकी सेरेनाको अस्ट्रेलियन ओपनमा पुनरागमन सम्भावना थियो । गत वर्ष सेरेनाले सातौँपटक अस्ट्रेलियन ओपन हात पारेकी थिइन् । करिअरमा सेरेनाले २३ ग्रान्डस्लाम जितेकी छिन् ।

६ महिनापछि जोकोभिक
सर्बियाली टेनिस स्टार नोभाक जोकोभिक ६ महिनापछि सक्रिय खेलमा फर्किएका छन् । बुधबार उनले कोयोङ क्लासिक टेनिस प्रतियोगिताको पहिलो चरणमा डोमिनिक थिएमलाई ६–१ र ६–४ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनका लागि फिट भएको सन्देश दिएका छन् । १२ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिक गत वर्षको विम्बल्डनको क्वार्टरफाइनलमा पराजित भएपछि कोर्टबाहिर थिए । उनी विम्बल्डनको क्वार्टरफाइनलमा टोमास बडर्चीबाट पराजित भएका थिए । एल्बोको समस्याका कारण जोकोभिकले अबुधाबीमा आयोजित मैत्रीपूर्ण खेल परित्याग गरेका थए ।

२०औँ ग्रान्डस्लाममा नजर
दोस्रो वरीयताका फेडेररको नजर २०औँ ग्रान्डस्लाम उपाधि रहनेछ । गत सिजनमा फेडेररले उत्कृष्ट प्रदर्शन गरी दुई ग्रान्डस्लाम र ५ एटिपी मास्टर्स सिरिज हात पारेका थिए । यस सिजनमा पनि उनी फिट नै छन् । होपम्यान कपमा उनकै प्रदर्शनमा स्विट्जरल्यान्ड उपाधिनजिक पुगेको छ । उपाधि दाबेदार खेलाडीको अनुपस्थितमा फेडेरर, नाडाल र जोकोभिकबीच उपाधि भिडन्त हुन सक्ने अनुमान लगाइएको छ ।

 

Comment with Facebook

Share This News !

shares